मकवानपुरको थाहा नगरपालिले ज्येष्ठ नागरिकहरुलाई तीर्थयात्रा गराएको छ । नगरपालिकाले नगरस्तरीय ज्येष्ठ नागरिक समितिले छनौंट गरेको ज्येष्ठ नागरिकहरुलाई दोलखाको कालिन्चोक, दोलखा भिमसेन, काभ्रेको नमोबुद्धलगायतको तीर्थस्थलहरुमा यात्रा गराएको हो । नगरभरीबाट छनोटमा परेका ६० जना ज्येष्ठ नागरिकलाई पालिकाले तिर्थयात्रा गराएको थाहा नगरपालिकाका सामाजिक विकास अधिकृत अनिल लामिछानेले जानकारी दिए ।

तीर्थयात्रामा सहभागी सबै ज्येष्ठ नागरिकहरुको खर्च नगरपालिकाले व्यहोरेको छ । ज्येष्ठ नागरिकहरुको सम्मानका लागि नगरपालिकाले यो अभियान चालेको नगर प्रमुख विष्णु बहादुर विष्टले जानकारी दिए । ज्येष्ठ नागरिकहरुलाई स्वास्थ्य संवेदशीलतालाई ख्याल राख्दै तीर्थयात्रामा स्वास्थ्यकर्मी समेत साथसाथै लगिएको थियो । थाहा नगरपालिकाले अघिल्लो वर्ष पनि नगरस्तरीय ज्येष्ठ नागरिक समितिको सिफारिसमा देवघाटलगायतको धार्मिक स्थलमा तिर्थ यात्रा गराएको थियो । ‘अघिल्लो आर्थिक वर्ष तिर्थ गएका ज्येष्ठ नागरिकहरु यो वर्ष सहभागी हुँदैनन्, यो वर्ष सहभागी भएकाहरु अर्को वर्ष जाँदैनन्’ सामाजिक विकास अधिकृत लामिछानेले भने ।

थाहा नगरपालिकाको सबै वडामा वडास्तरीय ज्येष्ठ नागरिक समिति गठन भएका छन् भने नगर सञ्जाल सक्रिय रहेको छ । पालिकाले वर्षैपिच्छे ज्येष्ठ नागरिक सम्मान तथा न्यानो कपडा तथा सहायता सामाग्री वितरण गर्दै आएको छ । पालिका क्षेत्रमा रहेका दुई वटा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रलाई पनि सहयोग गर्दै आएको छ । थाहामा २ वटा दिवा सेवा केन्द्र रहेका छन् ।

पालिका प्रेस
थप जानकारी