निर्वाचित प्रतिनीधिले कार्यभार सम्हालेपछि पालिकाकोे कामले लय लिँदै थियो । स्थानीय तहहरु संघीयता कार्यान्वयनसँगै पहिलो अभ्यासमै थिए । जनप्रतिनीधि र कर्मचारीमा केही नयाँ र प्रभावकारी काम गर्ने हुटहुटी पलाएको थियो । यो कुरा वि.सं. २०७५ सालतिरको हो । यहि बाटोमा थियो मकवानपुरको थाहा नगरपालिका । त्यत्तिबेला थाहा नगरपालिकाका जनप्रतिनीधि र कर्मचारीलाई एउटा नयाँ कन्सेप्ट’ फुर्यो–पालिकालाई पूर्ण संस्थागत सुत्केरीयुक्त बनाउने । तत्कालिन नगर प्रमुख लवशेर विष्ट, स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले यो नयाँ ‘कन्सेप्ट’लाई कार्यक्रममा ढाले ।

  

जतिबेला वडा तथा पालिकालाई पूर्ण संस्थागत सुत्केरी घोषणा गर्ने कुनै स्पष्ट कानूननै थिएन । तर संघीय सरकारले स्थानीय तह कार्यक्रमहरुको सञ्चालन मार्गदर्शन, २०७६ मार्फत पूर्ण संस्थागत स्थानीय तह घोषणा सम्बन्धी कार्यक्रम अघि सारेको थियो । मार्ग दर्शनको ३.८ नम्बर बुँदामा यस विषयलाई उठान गरिएको छ । यहि मार्गदर्शनको उद्देश्य र कार्यक्रम सञ्चालन प्रक्रियामा आधारित भएर कार्यक्रम सञ्चालन गर्ने निधो पालिकाले गर्यो । जतिबेला नेपालमै यो अभियान शुरु भएकै थिएन । तर थाहा नगरपालिकाले कार्यक्रम सञ्चालनकै क्रममा वि.सं. २०७६ साल साउन १७ गते ६ नम्बर वडालाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरेको थियो । तसर्थ ६ नम्बर वडा नेपालकै पहिलो पूर्ण संस्थागत सुत्केरी वडाको सूचीमा दर्ज भयो ।

पूर्ण संस्थागत स्थानीय तह घोषणा सम्बन्धी कार्यक्रम सञ्चालन पश्चात् वडामा मातृ तथा शिशु मृत्यूदर ह्वात्तै घट्यो । गर्भवती महिला क्रमशः स्वास्थ्य संस्थामा मात्र सुत्केरी हुन पर्छ भन्ने तिर तानिए । उनीहरुले गर्भवती र सुत्केरी स्याहारमा थप ध्यान दिन थाले । विकास ‘बाटो र माटो’ मात्र होइन भन्ने सोचले जनप्रतिनीधिहरुलाई पनि घर गर्न थाल्यो । गाउँ र स्वास्थ्य संस्था जोड्ने सडकहरु बन्न थाले । यसले पनि महिलाको लागि संस्थागत सुत्केरी हुन थप योगदान पुगेको स्वास्थ्य शाखा प्रमुख मेघराज बलामी बताउँछन् । यस बहेक गर्भवती महिला लक्षित ग्रामिण भिडियो एक्सरे कार्यक्रम, मासिक डाक्टर सेवा कार्यक्रम, घरभेट कार्यक्रम, पोषण कार्यक्रमलागयत थुप्रै स्वास्थ्य संस्थामा आकर्षण गर्ने खाले कार्यक्रम सञ्चालन भएपछि अहिलेको अवस्थामा आइपुग्न सहज भएको शाखा प्रमुख बलामी बताउँछन् । कोभिड–१९ ले देशैभर प्राभाव पारिरहेको बेला यो अभियानलाई पनि केही धक्का पुगेपनि रोक्दै रोकिएन । ‘गाउँघरमा महिला स्वयंसेविकाहरु अभियान लिएर कुदिरहे, स्वास्थ्यकर्मी र पालिका मार्फत विभिन्न योजना सञ्चालन भइरह्यो’ शाखा प्रमुख बलामीले भने ।

पहिलो कार्यकालमा शुरु भएको ‘पूर्ण संस्थागत सुत्केरी’ अभियान चलिरहेकै बखत स्थानीय तहको निर्वाचन आयो । यति बेलासम्म जम्मा एउटा मात्र वडा घोषणा भएको थियो । वि.सं. २०७९ सालमा जनप्रतिनीधि फेरिए तर अभियान फेरिएन । विभिन्न मितिमा १२ वटै वडा घोषणा भए । २०८० वैशाख १७ गते थाहा–९ र १०, २०८० जेठ ३ गते थाहा ११ र १२, २०८० जेठ २२ गते थाहा २, ३ र ४ नम्बर वडा घोषणा भएको थियो । त्यस्तै २०८१ जेठ २४ गते थाहा १, असार २ गते ८, असार ३१ गते ५ र २०८२ असार ३२ गते थाहा–७ ‘पूर्ण संस्थागत सुत्केरी’ वडा घोषणा गरिएको हो । सबै प्रक्रिया पूरा गरी नयाँ प्रतिनीधिले अभियान सम्हालेको ३ वर्षमा २०८२ सालको ८ भाद्रमा पालिका नै घोषणा भयो । यो अभियानले अहिले पहिलेको तुलनामा निकै सुधार छ । दर्जन बढि मातृशिशु मृत्यू हुने २०७५ साल अघिको अवस्थामा व्यापक सुधार आएको शाखा प्रमुख बलामी सम्झन्छन् । अभियान थालेको ७ वर्षमा जम्मा ५ जना मातृ तथा शिशुको मात्र ज्यान गएको छ । यो निकै झिनो संख्या हो । यस अवधिमा ४ शिशु र एक आमाले ज्यान गुमाएका हुन् ।

‘पूर्ण संस्थागत सुत्केरी’ अभियान थालेपछि मातृशिशु मृत्यूमा कर्मी आउनुमा अन्य विकास कार्यको पनि उत्तिकै महत्वपूर्ण छ । २०७६ सालमा पालुङ प्राथमिक स्वास्थ्य केन्द्रसहित जम्मा ५ वटा संस्थामा मात्र बर्थिङ सेन्टर थिए । अहिले १२ वटा छन् । स्वास्थ्य संस्था नै तीन वटा थपिएका छन् । वडा नम्बर १ मा नयाँबस्ती, वडा नम्बर ५ मा भुमेस्थान र १२ नम्बर वडामा लिती आधारभूत स्वास्थ्य केन्द्र थपिएको छ । अहिले ति संस्थाहरुमा पनि बर्थिङ सेवा समेत सञ्चालनमा रहेको नगर प्रमुख विष्णु बहादुर विष्टले जानकारी दिए । नगर प्रमुख विष्टले भने–‘कुनै पनि स्वास्थ्य संस्थासम्म पुग्नका लागि हिँड्नु पर्दैन, सबै संस्थाको आँगनसम्मै एम्बुलेन्स पुग्नसक्ने गरी सडक विस्तार गरिएको छ ।’ सेवालाई थप प्रभावकारी बनाउनका लागि एम्बुलेन्स थप्ने योजनामा रहेको विष्टले सुनाए । अभियानलाई सार्थकता तुल्याउन प्रदेश सरकारले पनि धेरथोर बजेट पठाउने गरेको स्मरण गर्दै आमा सुरक्षा कार्यक्रमले पनि अभियानलाई निकै मद्दत पु¥याएको विष्टले उल्लेख गरे । यस कार्यक्रमका लागि अघिल्लो आर्थिक वर्षसम्म १ करोड ३० लाख लगानी भएको छ ।

सर्वपक्षिय सहकार्यकै कारण थाहा नगरपालिकालाई ८ भाद्रमा ‘पूर्ण संस्थागत सुत्केरी पालिका’ घोषणा गरिएको हो । सबै गर्भवती स्वास्थ्य संस्थामा गएर सुरक्षित ढंगले सुत्केरी हुने गरेको र भएका गर्भवतीमध्ये ९० प्रतिशतभन्दा बढिले संस्थामै पुगेर सुत्केरी भएकोले थाहालाई ‘पूर्ण संस्थागत सुत्केरी पालिका’ घोषणा गरिएको हो । थाहा नगरपालिकाका शतप्रतिशत गर्भवतीहरु स्वास्थ्य संस्थामा नै सुत्केरी हुने गरेको थाहा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले जानकारी दिए । उनका अनुसार गत आर्थिक वर्षमा थाहा नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थामा ३५६ जना सुत्केरी भएका थिए । ८ भाद्रमा एक औपचारिक कार्यक्रमबिच बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले थाहालाई ‘पूर्ण संस्थागत सुत्केरी पालिका’ घोषणा गरेका हुन् । उनले थाहालाई पूर्ण संस्थागत सुत्केरी पालिका घोषणा गर्दै जिल्लामा मात्र नभई थाहाले बागमती प्रदेशमै स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति गरेको बताए ।

‘सिमित स्रोत र साधनकाबिच एउटा पालिका भएर पनि थाहाले प्रदेशमै स्वास्थ्य क्षेत्रमा अग्रणी भूमिका खेलेको छ। थाहालाई पूर्ण संस्थागत सुत्केरी पालिका घोषणा गर्न पाउँदा म गौरवान्वित भएको छु,’ उनले भने, ‘म आफ्नो कार्यकालमा मकवानपुरको उत्तरी क्षेत्रको शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधार विकासलाई प्राथमिकता दिएर काम गर्ने प्रतिवद्धता व्यक्त गर्छु।’ अभियानको निरन्तरताका लागि एउटा एम्बुलेन्स सहयोग गर्ने बानियाँको प्रतिवद्धता थियो । उनले भने–‘सरकारबाट संभव भए प्रदेशबाटै पठाउँछु नत्र म आफै व्यक्तिगत रुपमै सहयोग गर्छु ।’

मुख्यमन्त्री बानियाँले थाहालाई ‘पूर्ण संस्थागत सुत्केरी पालिका’ घोषणा गर्न मुख्य भूमिका खेलेको भन्दै सबै स्वास्थ्य स्वयंसेविकाहरुको प्रशंसा गरे । उनले राज्यले दिएको सिमित सुविधाका वावजुद घाम पानी नभनी निश्वार्थ सेवा गरेको भन्दै स्वास्थ्य स्वयंसेविकाहरुले राज्यबाट पाउँदै आएको सेवा सुविधामा प्रदेश सरकारले थप बढाउने प्रतिबद्धता समेत व्यक्त गरे।

कार्यक्रममा मकवानपुर–२ का प्रतिनीधि सभा सांसद तथा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले थाहाले स्वास्थ्य क्षेत्रमा गरेको कामको प्रशंसा गरे । उनले स्वास्थ्यका साथै आफ्नो निर्वाचन क्षेत्रका विविध विकास निर्माणमा सघाउने चर्चा गरे । यस्तै प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले प्रदेशको स्वास्थ्य मन्त्रालयले मातृ तथा नवजात शिशु मृत्युदर घटाउन बर्थिङ सेन्टर स्थापना गर्नुको साथै हवाई उद्धारसमेत गरिरहेकोले थाहाले सुरु गरेको ‘पूर्ण संस्थागत सुत्केरी पालिका’ घोषणालाई टेवा पुग्ने विश्वास व्यक्त गरे। कार्यक्रममा १२ वटा वडामा विभाजित थाहा नगरपालिकामा एक प्राथमिक स्वास्थ्य केन्द्रसहित १२ वटा स्वास्थ्य संस्थाहरु छन् ।

थाहा नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर विष्टको अध्यक्षतामा भएको कार्यक्रमका अतिथी तथा सहभागीहरुलाई प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानले स्वागत गरेका थिए । सो अवसरमा मकवानपुर क्षेत्र नं. २ (क) की सांसद कुमारी मोक्तान, जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य निरीक्षक कृष्ण बहादुर मिजार, स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका निर्देशक डाक्टर नरेन्द्र कुमार झा, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, थाहा नगरपालिकाका नगर उपप्रमुख भरत गोपाली, इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनी, बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने, थाहानगरका राजनीतिक दलका प्रमुख तथा प्रतिनीधिहरु, स्थानीय संघसंस्थाका प्रतिनीधिहरु, जनप्रतिनीधि, कर्मचारीहरुलगायतकाको उपस्थिती रहेको थियो ।

पालिका प्रेस
थप जानकारी