मकवानपुरमा विद्यालय बस सेवा सुरक्षित, व्यवस्थित तथा तोकिएको मापदण्डअनुसार सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालयले शिक्षा विकास तथा समन्वय इकाइमार्फत विद्यालयहरूलाई निर्देशन दिएको छ । प्रशासनले २० साउनमा एक सूचना जारी गर्दै विद्यालय बस तथा यातायात सेवासम्बन्धी अभिभावक र सर्वसाधारणबाट निरन्तर गुनासो आइरहेको भन्दै मापदण्ड पूर्णरूपमा कार्यान्वयन गर्न निर्देशन दिएको हो ।
विद्यालय बसमा क्षमताभन्दा बढी विद्यार्थी राख्ने, विद्यार्थीलाई उभ्याएर यात्रा गराउने, तीव्र गतिमा बस चलाउने, जोखिमपूर्ण ओभरटेक गर्ने, ट्राफिक नियम उल्लंघन गर्ने, अत्यधिक पुराना तथा मापदण्डविपरितका सवारी प्रयोग गर्ने, बस सेवा शुल्क असुलीमा मनोमानी गर्ने तथा मुख्य सडकको बीचमै विद्यार्थी चढाउने–ओराल्नेजस्ता समस्या देखिएको प्रशासनले जनाएको छ ।
त्यस्तै बसमा शैक्षिक सामग्री, सिट, ढोका, झ्याल तथा आपत्कालीन निकासलगायतका सुरक्षा व्यवस्थासमेत विद्यालय बस निर्देशिकाबमोजिम नरहेको गुनासो आएको पत्रमा उल्लेख छ । कार्यालयले विद्यालय बस निर्देशिका, २०७४ मा तोकिएका सुरक्षा तथा सेवा मापदण्ड पूर्ण रूपमा कार्यान्वयन गर्न विद्यालय तथा सेवा प्रदायकलाई निर्देशन दिन शिक्षा विकास तथा समन्वय इकाइलाई आग्रह गरेको छ ।
साथै सरोकार वालासँग समन्वय गरी मापदण्ड कार्यान्वयन गराउन तथा आवश्यकताअनुसार कानुनी कारबाहीको प्रक्रिया अघि बढाउनसमेत भनिएको छ ।

















































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्