बालविकास केन्द्रहरूलाई व्यवस्थित बनाउने उद्देश्यसहित विराटनगर महानगरपालिकाले निर्देशिका बनाउने भएको छ।

निर्देशिकाको अभावमा महानगरभित्र सञ्चालित बालविकास केन्द्रहरू व्यवस्थित रूपमा सञ्चालनमा कठिनाइ रहँदै आएको थियो। सोही क्रममा महानगरले प्रारम्भिक बालविकास केन्द्र सञ्चालन तथा व्यवस्थापन निर्देशिकाको मस्यौदासमेत तयार गरेको छ। सोही निर्देशिकाको मस्यौदामाथि सरोकारवालाहरूलाई राखेर महानगरले आइतबार छलफल सुरु गरेको हो।

बालविकास केन्द्र शिक्षाको जग भएकाले व्यवस्थित बनाउनुपर्ने शैक्षिक महाशाखा प्रमुखसमेत रहेका महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्गाप्रसाद खतिवडाले बताए। बालविकास केन्द्रका बारेमा अभिभावकहरूले पनि जानकारी राख्नु आवश्यक रहेको खतिवडाको भनाइ छ।

बालविकास केन्द्रहरूमा बालबालिकाहरू सुतेमा अभिभावकले शिक्षिकाहरूलाई गाली गर्ने गरेको उनको गुनासो थियो। महानगरका प्रवक्ता सन्तोष न्यौपानेले छलफलका क्रममा आएका सुझावलाई निर्देशिकामा समेटेर अघि बढ्ने जानकारी दिए। प्रवक्ता न्यौपानेले निर्देशिकाले बालविकास केन्द्रहरूलाई व्यवस्थित बनाउन सहयोग पुग्ने दाबी गरे।

छलफलमा वडा नम्बर १ का अध्यक्षसमेत रहेका सामाजिक विकास समितिका संयोजक काजी बस्नेत, २ का कुमार पोखरेल, ११ का तीर्थेन्द्र न्यौपाने, १३ का सूर्यलाल यादव, १९ का श्याम घिमिरेसहित कार्यपालिका सदस्यहरू, शिक्षक महासङ्घका नगर अध्यक्ष वेदप्रसाद खतिवडा, पोखरिया माविका प्रधानाध्यापक खेम भट्टराई, जनता आधारभूत विद्यालय दरैयाका प्रधानाध्यापक नरहरि कोइराला, सहयोगी कार्यकर्तालगायतले निर्देशिकाका विषयमा सुझाव दिएका थिए।

निर्देशिकाको मस्यौदा शैक्षिक महाशाखाका बालविकास केन्द्र हेर्ने फोकल पर्सन नवराज ढुङ्गानाले प्रस्तुत गरेका थिए।

पालिका प्रेस
थप जानकारी