श्रीकृष्णाष्टमीको अवसरमा मकवानपुर थाहा नगरपालिकाको शिखरकोटमा ११ भाद्रमा साँस्कृतिक कार्यक्रमसहित घैटो फुटाउने प्रतियोगिता हुने भएको छ । शिखरकोट स्थित चुनिथान नजिकैको स्टेजजमा साँस्कृतिक कार्यक्रम हुने आयोजक शिखरकोट बजार व्यवस्थापन समितिका अध्यक्ष मनोज रायमाझीले जानकारी दिए । कार्यक्रममा सहभागी हुन अध्यक्ष रायमाझीले सबैलाई अनुरोध गरेका छन् ।
यसैबीच दिउँसो ३ बजेटबाट परम्परागत घैटो फुटाउने प्रतियोगिता शुरु हुने आयोजक मध्येका शिखर क्लबका अध्यक्ष विश्व अर्यालले जानकारी दिए । वि.सं. २०५४ सालबाट शुरु भएको यस प्रतियोगिताका विजयीहरुलाई पुरस्कारको व्यवस्था गरिएको छ ।

यसअघि १० भाद्रमा शिखरकोटको कृष्ण मन्दिरमा भव्यताको साथ पुजा आराधानाको साथै विविधि कार्यक्रमहरु भएका छन् । शिखरकोटमा भएको लिटिल राधाकृष्ण, लिटिल लाखे प्रदर्शनले मेला भर्न मन्दिर पुगेकाहरुको ध्यान तानेको थियो । प्रदर्शनीमा २५ राधा ३५ जना कृष्णको भेषमा सहभागी थिए । उनीहरु सबैलाई आयोजकले उपहार दिएको थियो । राधा र कृष्णको रुपमा आफ्ना बालबालिकालाई सिंगारेर अभिभावकहरु १० भाद्र विहान शिखरकोट स्थित फल्चा परिसरमा पुगेका थिए । थाहा नगरपालिकाका नगर प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
त्यसैगरी पालुङ शहरको पालुङ धिमे समूह र गोपाली गाउँको गोपाली धिमे समूहको बाजासहित लिटिल लाखे शिखरकोटमा प्रदर्शनी गरिएको थियो । थाहा नगरपालिका वडा नम्बर ५ को तामाङ बोन्बो संरक्षण समूहको ढ्याङ्ग्रो झाँक्री नाच, कुन्छाल महिला बाँसुरी समूह, ओखरबजार धिमे समूह, ऋषेश्वर खैजडी महिला समूह र थाहा महिला तथा पुरुष खैजडी भजन समुहको प्रदर्शनी समेत रहेको थियो । भजन र बाजामा भक्तजनहरु छमछमी नाचेका थिए ।

पर्वको अवसरमा शिखरकोटमा थाहानगर क्षेत्रका फोटोहरु प्रदर्शनीमा राखिएका छन् भने नेवारी परिकारसहित खानाका स्टलहरु समेत राखिएका छन् । योमरीसहित अन्य नेवारी परिकार चाख्नेहरु पनि स्टलमा पुगेका थिए । सो अवसरमा व्यवसायिक स्टलहरु पनि शिखरकोटमा प्रशस्त रहेका छन् । कपडा, जुत्ता, खेलौना, मोबाइलका सामान, रैथाने अन्नहरुलगायतको स्टलहरुले शिखरकोटको सडक पेटी भरिभराउ भएको छ ।
मेलाको थाहा नगरपालिका, बजार व्यवस्थापन समिति शिखरकोट, शिखर क्लब, गोपाली समाज, नवजागृत पुस्तकालय, फरकसोच, दामन चेली समाज र ब्याडमिन्टन संघ थाहा नगरपालिका आयोजक रहेका छन् । मेलाको मुख्य प्रायोजक यति ब्रुअरी र अर्ना रहेको छ । मेलालाई प्रचारप्रसारमा विशेष सहयोग गर्नका लागि अफिसियल मिडियाहरु समेत तोकिएका छन् । पालिका प्रेस डटकम, थाहापाटी, थाहा टाइम्स, रेडियो दामन, सत्मार्ग मिडिया र टिम टेलिभिजन मेलाका अफिसियल मिडिया हुन् । बिगतका वर्षमा भन्दा यो वर्ष बिशेष चहलपहल देखिएको छ ।
















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्