तालाबन्दीको विरोधमा तनहुँ जिल्लाको भिमाद नगरपालिकाका कर्मचारी आन्दोलित भएका छन् । पालिकाको शिक्षा शाखामा कांग्रेस भिमाद नगर समितिका केही व्यक्तिहरुले तालाबन्दी गरेको विरोधमा कर्मचारी आन्दोलनमा उत्रिएका हुन् ।
नगरपालिकाका कर्मचारीले आइतबार विज्ञप्ति जारी गर्दै ताला नखोलेसम्म विरोध जारी राख्ने बताएका छन् । विज्ञाप्तिमा कांग्रेस र भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा आबद्ध केही व्यक्तिहरुले गत २४ गते नगरपालिकाको काम कारबाहीको विषयलाई लिएर कार्यकक्षमा उपसचिव पदमराज आचार्यमाथि गरिएको अभद्र व्यवहार र शिक्षा, युवा तथा खेलकुद शाखामा गरिएको तालाबन्दीप्रति नगरपालिकाका सम्पूर्ण कर्मचारीहरुको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

‘कार्यालयको काम कारबाहीप्रति चित्त नबुझेमा कानुनबमोजिम छुट्टै विधि र प्रक्रियाअनुसार आवश्यक पहलकदमी लिनुपर्नेमा त्यसो नगरी तटस्थताको सिद्धान्तबमोजिम कार्यसम्पादन गर्ने राष्ट्रसेवक कर्मचारीमाथि गरिएको दुर्व्यवहार, धाकधम्कीप्रति सम्पूर्ण कर्मचारी परिवार निन्दा एवं भर्त्सना गर्दै आगामी दिनहरुमा यस्ता खालका हर्कत नगर्नसमेत आग्रह गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ ।

कर्मचारीको मनोबल गिरेको, कार्यसम्पादन गर्ने वातावरण नरहेको, कार्यकक्षमै दुर्व्यवहार, अपमानित तथा बेइज्जत गर्ने व्यक्तिको पहिचान गरी कानुनी दायरामा नल्याउँदासम्म आइतबारदेखि नगरपालिका र अन्तर्गत कार्यालयहरुमा कार्यरत सम्पूर्ण कर्मचारीहरुले हातमा कालो पट्टी बाँधी विरोध सुरु गरेका छन् ।















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्