पर्यटकीय नगरपालिकाको रुपमा पहिचान बनाएको थाहा नगरपालिकामा बसपार्क निर्माणको काम तीब्र गतिमा भइरहेको छ । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने थाहा नगरपालिका—४ नार्खुडाँडामा वस पार्कको निर्माण कार्य २५ प्रतिशत सकिसकेको छ । त्रिभुवन राजपथसंगै जोडिएको उक्त बसपार्कमा टर्मिनल भवन, पेट्रोल पम्प, ग्यारेज, ४ वटा व्यापारिक भवनसहित साना ठूला गरी ३० सवारीसाधन अट्ने बसपार्क बनिरहेको हो ।

थाहामा बसपार्कको काम २५ प्रतिशत सकियो
करिब २३ रोपनी जग्गामा निर्माण कार्य सुरु गरिएको बसपार्कमा आधुनिक सुविधायुक्त शौचालय पनि निर्माण भइरहेको थाहा नगरपालिका ईन्जिनियर सन्तोष बोहराले बताए । २०७९ चैत २१ गते सम्झौता गरेर निर्माण कार्य सुरु गरेको करिब ११ महिनामा काम २५ प्रतिशत भएको छ । सिंह एण्ड ब्रदर्श कन्सट्रक्सन प्रालि काठमाडौंले २९ करोड ५४ लाख ९१ हजारमा लिएको ठेक्का २०८१ भदौ २० गतेसम्म निर्माण कार्य सम्पन्न गरिसक्नु पर्ने सम्झौतामा उल्लेख गरिएको छ ।

त्रिभुवन राजपथको काखमा रहेको थाहा नगरपालिकामा बसपार्कको अभावले गर्दा यातायात व्यवसायीले समस्या भोग्दै आइरहेका छन् भने राजपथको दाँयावाँया सवारीसाधन राख्दा दुर्घटना हुने गरेको छ । एकीकृत सहरी पूर्वाधार विकास कार्यक्रम अन्तर्गत संघीय सरकारले वसपार्क निर्माण गर्न लागि उक्त बजेट उपलब्ध गराएको थाहा नगरपालिकाका मेयर विष्णु विष्टले वताए । उक्त बसपार्कको डिपिआर अलि पहिले नै गरेकाले विद्युतीय चार्जिङ स्टेशन स्थापना गर्न समेटिएको छैन । बसपार्कमा विद्युतीय चार्जिङ स्टेशन स्थापना गर्न नेपाल विद्युत प्राधिकरणसँग पहल भइरहेको मेयर विष्टले बताए ।

थाहा नगरपालिका पर्यटकीय क्षेत्र भएकाले आन्तरिक एव बाह्य पर्यटक विद्युतीय सवारी साधन लिएर आउने गरेका छन् तर चार्जिङ स्टेशनको अभावले समस्या भोग्ने गरेका छन् । नगरपालिकाबाट हेटौडा-काठमाडौं यात्रु बोकेर आउने विद्युतीय सवारी चालकले पनि थाहामा चार्जिङ स्टेशन नभएकाले तनाव व्यहोर्ने गरेका छन् । थाहा नगरपालिकामा पर्यटकीय क्षेत्र चित्लाङ, मार्खु कुन्छाल, दामन सिमभन्ज्याङ र डाँडावास पर्छन् ।१९१ वर्ग किलोमिटरमा फैलिएको उक्त नगरपालिकामा ३८ हजार ८ सय ७० जनसंख्या रहेको छ ।

पालिका प्रेस
थप जानकारी