मकवानपुरमा यसवर्ष ६ हजार १ सय ६३ विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षा दिने भएका छन् । परीक्षाको सम्पूर्ण तयारी पूरा भएको शिक्षा विकास समन्वय ईकाई मकवानपुरले जनाएको छ । १५ चैतबाट सुरु हुने यस वर्षको एसइई परीक्षामा नियमिततर्फ प्राविधिक धारतर्फबाहेक ५ हजार ७ सय ५०, प्राविधिक धारतर्फ २ सय ६४ र एक्जाम्टेडतर्फ एक सय ४९ गरी कूल ६ हजार एक सय ६३ जना विद्यार्थी सामेल हुने शिक्षा विकास समन्वय ईकाई मकवानपुरले जनाएको छ ।

यसवर्ष हुने एसइई परीक्षाका लागि मकवानपुरका १० स्थानीय तहमा २६ वटा परीक्षाकेन्द्र कायम गरिएको छ । त्यसैगरी यसवर्ष मकवानपुरमा सामुदायिकतर्फ एक सय र संस्थागततर्फ ३६ विद्यालय गरी कूल एक सय ३६ विद्यालय एसइई परीक्षामा सामेल हुने समन्वय ईकाई प्रमुख दिनानाथ गौतमले जानकारी दिएका छन् । परीक्षाको सम्पूर्ण तयारी पूरा भइसकेको र उत्तर पुस्तिका, प्रश्नपत्र प्रहरीको समन्वयमा परीक्षाकेन्द्रमा पठाउने काम सुरु गरिसकिएको प्रमुख गौतमले बताए । साथै एकदुई दिनमा परीक्षा केन्द्रका केन्द्राध्यक्षलाई अभिमुखीकरण गरिने कार्यक्रम रहेको समेत गौतमले बताए ।

गतवर्ष २५ परीक्षाकेन्द्र रहेकोमा प्रजाजागृति मावि राक्सिराङमा यो वर्ष नयाँ केन्द्र थप गरिएको छ । मकवानपुरको कैलाश बाहेक सबै पालिकामा एसईई परीक्षाकेन्द्र निर्धारण गरिएको ईकाईप्रमुख गौतमले बताए । प्रश्नपत्र निर्माणमा वैज्ञानिकता, वस्तुनिष्ठता तथा गुणस्तरीयताले पनि परीक्षाको नतिजालाई असर पार्छ । व्यवस्थित, मर्यादित, निष्पक्ष, स्वच्छ र सौहाद्र वातावरणमा परीक्षा सञ्चालन गर्न परीक्षाकेन्द्र निर्धारण, भौतिक तथा मानवीय व्यवस्थापन एवम् निरीक्षकले परीक्षार्थीलाई गर्ने व्यवहारबाट परीक्षाको गुणस्तरीयताको निक्र्यौल गर्ने बिज्ञहरुले बताएका छन् । परीक्षा चैत १५ गते बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुँदैछ । चैत्र २७ गते सकिने परीक्षामा देशभरका करीब ४ लाख ८९ हजार परीक्षार्थी सम्मिलित हुने आंकलन गरिएको छ । यसवर्षदेखि प्रत्येक विषयको सैद्धान्तिकतर्फ कम्तिमा ३५ प्रतिशत अंक नल्याउने विद्यार्थी नन्ग्रेडिङमा पर्नेछन् । दुई विषयसम्म नन्ग्रेडिङ आउने विद्यार्थीले ग्रेडवृद्धि परीक्षा दिन पाउनेछन् । दुईभन्दा बढी नन्ग्रेडिङ आएमा अर्को वर्षसम्म पर्खेर ती विषयको परीक्षा दिनु पर्नेछ । यसघि सैद्धान्तिक र प्रयोगात्क अंक जोडेर ३५ प्रतिशत ल्याएको खण्डमा ग्रेडमा गणना हुन्थ्यो ।

एसईईलाई अधिकतम उपलब्धिमूलक बनाउन अभिभावकको पनि उत्तिकै महत्व रहने बिज्ञहरुले बताएका छन् । छोराछोरीलाई अनावश्यक दवाव नदिने, उनीहरुको आहारविहारलाई स्वस्थ्यकर बनाउने, पढ्ने लेख्ने सामग्री तथा बस्ने स्थानको उपयुक्त वातारण वनाई सहजता प्रदान गर्ने एवम् उत्साह र ढाढस दिएर मर्यादित रुपमा परीक्षा दिन प्रोत्साहित गर्न अभिभावकलाई सुझाव दिइएको छ । त्यस्तै विद्यालयले विद्यार्थीको रुची, क्षमता अनुसारको विषयको छनोट तथा परीक्षालाई सहजरुपमा सामना गर्नसक्ने योग्यताको विकास गराउनु पर्ने, विद्यार्थीको वैयक्तिक भिन्नता र उसको प्रगतिको गति र क्षमताको आधारमा पठनपाठन र अभ्यासको अवसर प्रदान गर्ने चाँजोपाँजो मिलाउनु पर्ने समग्रमा विद्यालयको उपलब्धी उच्च हुने गरी विद्यार्थीको तयारी गर्न बिज्ञले सुझाएका छन् ।

पालिका प्रेस
थप जानकारी