मकवानपुर थाहा नगरपालिका चित्लाङका चार गाँउका गोपाली तथा गमाल समुहदायले यसवर्षको दशै एकसातापछि सारेका छन् । ऐतिहासिक जातीका रुपमा रहेका गोपाली र गमालहरुले परम्परागत चम्पाकेश्वर महादेवको जात्रा लाग्ने दिन कार्तिक संक्रान्तिभन्दा अघि दशै परेकोले महान पर्व दशै पछि सारेका हुन् । उनीहरुले आगामी कात्तिक १ गते जात्रा मनाइसकेपछि ३ कात्तिकमा दशैको टीका लगाउने स्थानीय रामकृष्ण गमालले जानकारी दिए ।

थाहा १० को न्हूँल गाउँ । फाइल फोटो

कार्तिक संक्रान्तिदेखि वरको छैठौं दिन महानवमी परेकोले दशै पछि सरेको स्थानीइ अक्षय गोपालीले जानकारी दिए । आठ दिनअघि गोपाली समुदायको परम्परागत जात्राका लागि ‘आँग’ अर्थात प्रसादका लागि जाँड राख्ने दिन हो । ‘कार्तिक संक्रान्तिको आठ दिन अघि महानवमी नपरेको भए दशैं माथ्यौंְ’ – जात्राका गुरु श्याम बहादुर गोपालीले बताए ।

यसपाली अब चित्लाङको गोपालीको बसोबास रहेको न्हुँलगाँउ र टौखेल तथा गमालको बसोबास रहेको कलाँटु र तल्लो बिसिङ्खेलबासीले दशै सारेको चम्पाकेश्वर क्षेत्र विकास समितिका सचिव कर्ण गोपालीले जानकारी दिए । कार्तिक संक्रान्तीका दिन गोपाली समुदायका गुठीयारहरुले ‘आँग’ अर्थात चार घेम्पो जाँड ल्याउने प्रचलन छ । कीरा परिसकेको उक्त जाँड र ‘कक बजी’ अर्थात एक पटक मात्र कुटेको चिउरा प्रसादको रुपमा खाने गरिन्छ । उक्त प्रसाद खाएमा पेटका रोग निर्मुल हुने जनविश्वास छ ।

यस्तो छ, किम्बदन्ती

धार्मीक ग्रन्थ रामायणको पात्र वाणासुरको कथासंग चम्पाकेश्वर महादेवको उत्पत्तिको प्रसंग जोडिएकोले चम्पाकेश्वर महादेवको उत्पत्ति आदि कालमै भएको दाबी छ । गोपाली जातीको बहुल्यता रहेको यो क्षेत्रमा नाच र जात्रा चलाउन गुठीको ब्यवस्था गरीएको छ । यस भेगमा पानी नपरेमा पानी माग्न र गाईवस्तुको रक्षाको लागि चम्पाकेश्वर महादेवलाई पुज्ने बताइन्छ । यस मन्दिरमा पुख्यौँली घर पाटन रहेका राजोपाध्याय खलकका पुजारी छन् । प्रत्येक वर्ष जात्रामा विशेष पुजाका लागि महादेवलाई जाँड र एकैपटक कुटीएको चिउरा चढाउनु पर्छ । जसलाई स्थानिय वासिन्दा ककः बजी भन्दछन् ।

सोही दिन बेलुकी काठको लठी ठोकाठोक गरेर टाउकोमा पगरी र पगरीभरि फूल सिउरेर स्थानीय गोपालीहरुले घरबुना खेसका कपडा लगाएर नाच देखाउने चलन रहेको छ । उक्त नाचलाई स्थानिय भाषामा ‘ट्वाक प्याखँ’ भनिन्छ ।

स्थानिय गोपालवंशी ग्वालाहरुको अत्यन्त श्रद्धाको पर्व चम्पाकेश्वर मेलामा विभिन्न गुठीयारहरुले चार घेम्पो जाँड ल्याउने प्रचलन छ । कीरा परिसकेको उक्त जाँड र ‘कक बजी’ प्रसादको रुपमा खाएमा पेटका रोग निर्मुल हुने जनविश्वास छ।

थाहा १० को टौखेल गाउँ । फाइल फोटो

किम्बदन्ती अनुसार हालको थानकोटलाई प्राचिन कालमा शोणितपूर भनिन्थ्यो । त्यहा राजा बाणासुर ले राज्य गर्दथे । एक दिन शिकार खेल्न राजपरिवार र सेनाहरु चन्दागिरी जंगल हुदै बिसिङखेलको वनमा आइपुगेको स्थानिय बासिन्दा बताउँछन् । उक्त वनको एउटा रुखमा फूलिरहेको चापको फूल राजकुमारीले देखेपछि उनी लोभिएको र उक्त फूल टिपेर ल्याउन अनुरोध गरिएको स्थानिय बुढापाकाहरु बताउँछन् ।

कथाअनुसार फूलको रुखको फेदबाट हेर्दा फूल देखिने र टुप्पोमा पुग्दा हराउने गरेपछि राजालाई साह्ै रिस उठेछ । त्यसपछि कलाँटु गाँउका काठका काम गर्ने ब्यक्तिहरुलाई बोलाएर उक्त रुख काट्न आदेश दिएछन् । रुख काट्दा रगत आएको र एउटा ज्योर्तीलङ पैदा भएपछि कलाँटुका गमालहरुले उक्त लिङ्ग आफ्नो गाँउमा लगेर राखेछन् । तर त्यो रात गाँउमा कुखुराको भाले नबासेपछि केहि अनिष्ट भयो भन्ठानेर गाँउलेमा चिन्ता बढेछ । क्षमापुजा गरेपछि आकाशवाणी भएर ‘सोझा जाती गोपाली बस्ने टौखेलमा मलाई लगेर राख्नु’ भनेपछि अझैपनि जात्राको दिन टौखेलबाट शिवलिङ्ग ल्याउने र जात्रा सकिएपछि फिर्ता लैजाने प्रचलन रहेको छ । अहिले पनि चाँपको रुखको ठुटो हालसम्म मन्दिरमै छ ।

पालिका प्रेस
थप जानकारी