मकवानपुर थाहा नगरपालिका वडा नम्बर ८ मा मात्र ५ वटा झोलुङ्गे पुल निर्माण हुने भएको छ । झोलुङ्गे पुल निर्माणको लागि ७ र ८ कार्तिकमा यातायात पूर्वाधार निर्देशनालय बागमती प्रदेशबाट सर्भेक्षण भएको छ ।
निर्देशनालयका कार्यक्रम संयोजक प्रकाश हमालको नेतृत्वमा प्राविधिक राजीव थापालगायतको टोलीले साविक आग्रामा पर्ने ८ नम्बर वडाका विभिन्न पाँच स्थानमा झोलुङ्गे पुलको सर्भे गरिएको हो । प्राविधिकहरुको टोलीले बारमुरे मूलखोला छाप झोलुङ्गे पुल, खानीगाउँ काभ्रे झोलुङ्गे पुल, किट्टेडाँडा जन्तीबसे झोलुङ्गे पुल, आकाशे फाँट देउखेल झोलुङ्गे पुल र मोरिया सुलिकोट देउखेल झोलुङ्गे पुलको सर्भे गरेको थाहा नगरपालिका ८ नम्बर वडाध्यक्ष हेम कुमार थिङले जानकारी दिए ।
पुलको सर्भेक्षणका लागि खटिएका यातायात पूर्वाधार निर्देशनालय बागमती प्रदेश हेटौडाको टोलीलाई अध्यक्ष थिङले सहजीकरण गरेका थिए । भौगोलिक विकटताका कारण आवतजावत गर्न समस्या झेल्दै आएका वडाबासीहरुलाई पुल निर्माण पश्चात् सहज हुने अध्यक्ष थिङको प्रतिक्रिया रहेको थियो । उनले छिट्टै पुलको निर्माण कार्य शुरु गर्ने गरी प्रक्रिया अघि बढेको बताए ।
सो अवसरमा सर्भेक्षणमा खटिने टोली, जनप्रतिनीधिहरु, कर्मचारीहरु, स्थानीय सबैलाई अध्यक्ष थिङले धन्यवाद दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्