मकवानपुर थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी सरुवा भएका छन् । थाहामा २० महिना अघि प्रमुख प्रशासकीय अधिकृत गिरी भक्तपुर नगरपालिकाबाट सरुवा भई आएका थिए ।

सरुवा भएका गिरीलाई थाहा नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर विष्ट, उपप्रमुख भरत गोपाली तथा महाशाखा र शाखा प्रमुखहरुले एक कार्यक्रमको आयोजना गरी विदाई गरेका हुन् । ४ मंसिरको निर्णयानुसार ५ मंसिरमा काभ्रेपलान्चोक जिल्लाको नमवुद्ध नगरपालिकामा सरुवा भएका गिरीले २१ मंसिरमा रमाना लिएका हुन् ।

यसैबीच थाहा नगरपालिकामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट प्रमुख प्रशासकीय अधिकृतको रुपमा सुरेन्द्र प्रधान प्रधान सरुवा भई आएका छन् । प्रधान थाहा नगरपालिकाको लागि दशौं प्रमुख प्रशासकीय अधिकृत हुन् ।

वि.सं. २०७१ सालमा नगरपालिका घोषणा भएयता पहिलो प्रमुख कार्यकारी अधिकृतको रुपमा पुरुषोत्तम सापकोटा हाजिर भएका थिए । उनले ३ महिना मात्र कार्यकाल समालेका थिए । दोस्रो रामेश्वर अर्यालले २ महिना कार्यभार सम्हालेर सरुवा भएका थिए । अर्याल नै थाहाका लागि हालसम्मका सबैभन्दा कम समय बस्ने कार्यकारी अधिकृत भए भने हरिलाल पुरी तेस्रो कार्यकारीको रुपमा आएका थिए । उनले १५ महिना काम गरे । चौथोमा भिम बहादुर परियारले करिब १० महिना कार्यकारी अधिकृत भई काम गरेका थिए ।

थाहामा पाँचौं प्रमुख प्रशासकीय अधिकृतको रुपमा जिवन आचार्यले प्रशासनिक नेतृत्व सम्हालेका थिए । उनले पहिलो स्थानीय तहको निर्वाचनका अधिकृतका साथै सात महिना थाहामा काम गरे ।

थाहामा दोस्रो पटक प्रमुख प्रशासकीय अधिकृतको रुपमा इन्ट्रि पाएका हरिलाल पुरीले वि.सं. २०७४ असोजदेखि २०७९ साउनसम्म हालसम्मको प्रमुख प्रशासकीय अधिकृत मध्ये सबैभन्दा लामो कार्यकाल व्यतित् गरेका थिए । उनले २०७४ सालमा निर्वाचित जनप्रतिनधिको पूरै कार्यकालमा कार्यालयको प्रशासनिक नेतृत्व सम्हाले ।

सातौं अधिकृतको हामेनाथ काफ्लेले ६ महिना कार्यभार सम्हालेकोमा प्रमुख प्रशासकीय अधिकृत रिक्त भएपछि संघीय मामिला तथा सामान्य प्रशासजन मन्त्रालयले थाहा नगरपालिकाका अधिकृत आठौं अजित घिमिरेलाई प्रमुख प्रशाकीय अधिकृत तोकेको थियो । उनले करिब ५ महिना प्रशासनिक नेतृत्व लिएपछि कृष्ण गिरी २०८० वैशाख ४ गते थाहामा हाजिर भएका थिए ।

पालिका प्रेस
थप जानकारी