मकवानपुरको थाहा नगरपालिकाको वडा नम्बर ७ ‘पूर्ण संस्थागत सुत्केरी वडा’ घोषणा भएको छ । ७ नम्बर वडाको देउखेल शहरी स्वास्थ्य केन्द्रमा ३२ असारमा आयोजित एक समारोहका बिच थाहानगर प्रमुख बिष्णु बहादुर बिष्टले वडालाई पुर्ण संस्थागत सुत्केरी वडा घोषणा गरेका हुन ।

‎साविक आग्रामा पर्ने सो वडामा तीन आर्थिक वर्ष यता सबै महिला स्वास्थ्य संस्थामै सुरक्षित सुत्केरी भएको प्रमाणिकरण भएपछि ‘पूर्ण संस्थागत सुत्केरीयुक्त वडा’ घोषणा गरिएको हो । ३२ असारमा घोषणासँगै ‎वडालाई प्रमाणपत्र हस्तान्तरण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका थाहा नगरपालिकाका प्रमुख बिष्टले थाहाका स्वास्थ्य संस्थाको स्तरोन्नतितर्फ आफू लागेको बताउदै यस कार्यमा अहोरात्र खटिने स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई धन्यवाद दिए । उनले नागरिकका आधारभूत स्वासथ्य सुविधाका लागि पालिकाले योजनावद्ध रुपमा काम गर्ने सुनाए ।
‎जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रशासक कृष्ण मिजारले अब पूर्ण सुरक्षित मातृत्व जिल्ला घोषणाका लागि सबै स्थानीय तह र स्वास्थ्य संस्थाहरु लाग्नुपर्ने बताउदै यस्ता सन्देश जिल्लाको वडावडामा पुग्नुपर्ने उल्लेख गरे । अब वडा नम्बर ७ पुर्ण संस्थागत सुत्केरी वडा घोषणा भए पश्चात् नगरपालिकालाई नै पूर्ण संस्थागत सुत्केरी घोषणा गर्ने बाटो खुलेकोको थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानले बताए।

कार्यविधिअनुसार ९८ प्रतिशत गर्भवती स्वास्थ्य संस्थामै सुत्केरी भएको, सरकारको मापदण्डअनुसार ९० प्रतिशतले गर्भवती टिडी खोप लगाएको, आइरन चक्की–जुकाको औषधि खाएको, नियमित रूपमा गर्भ जाँच गराएको लगायत मापदण्डअनुसार पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गर्ने गरिएको थाहा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले जानकारी दिए । ‎सरकारले सन् २०३० सम्म अस्पतालमै सुत्केरी गराउनेको संख्या ९० प्रतिशत पु¥याउने लक्ष्य लिएको छ ।

  

‎‎थाहा–७ का वडा अध्यक्ष तथा देउखेल सहरी स्वास्थ्य केन्द्रका व्यवस्थापन समितिका अध्यक्ष शिवराज थिङको अध्यक्षतामा भएको कार्यक्रममा थाहानगर भित्र रहेका स्वास्थ्य संस्थाका प्रमुखहरु, प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर डाक्टर जोनसन बिक, सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक बिष्णु वाइवा, थाहा नगरपालिका आर्थिक विकास समिती संयोजक हिरेन्द्र कुमार रायमाझीलगायत स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका पदाधिकारी, जनप्रतिनिधिहरु महिला स्वयंसेविका, स्वास्थ्यकर्मीलगायतका उपस्थिति रहेको थियो।

सो अवसरमा वडालाई पुर्ण संस्थागत सुत्केरी वडा घोषणा गर्न खटिएका स्वास्थ्यकर्मी देउखेल सहरी स्वास्थ्य केन्द्रकी अनमी नानीमाया थिङ र महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान गरिएको थियो । ‎स्वास्थ्य केन्द्रका प्रमुख नेमराज थिङले संचालन गरेको कार्यक्रमलाई स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका सदस्य सचिव चन्द बहादुर थिङले स्वागत गरेका थिए ।