मकवानपुरको थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ३ जना कर्मचारीको चालु आर्थिक वर्ष २०८२/०८३ भित्रै अवकाश हुने विवरण सार्वजनिक भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहतको राष्ट्रिय किताबखाना (निजामती) ले १ साउनमा आर्थिक वर्ष २०८२/०८३ मा अनिवार्य अवकाश हुने कर्मचारीहरुको अनुमानित नामावली प्रकाशन गरेकोमा थाहाका ३ जना अनिवार्य अवकाशमा परेका हुन् ।

थाहा नगरपालिकाका हालका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान, प्रशासन महाशखा प्रमुख नविन खालिङ र कृषि विकास शाखा प्रमुख सञ्जय तिवारी चालु आर्थिक वर्षमै अनिवार्य अवकाशको सूचीमा परेका छन् । प्रकाशित नामावली अनुसार थाहा नगरपालिकाका प्रशासन महाशाखा प्रमुख नविन खालिङ (अधिकृत आठौं) २०८२ फागुन १४ गते अवकाश पाउँदैछन् । अधिकृत सातौ तहका कृषि विकास शाखा प्रमुख तिवारीले २०८३ वैशाख १५ गते अनिवार्य अवकाश पाउँदैछन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत (रा.प.द्वितीय श्रेणी) सुरेन्द्र प्रधानले भने २०८३ जेठ ८ गते अनिवार्य अवकाश पाउँदैछन् ।

त्यसोतः यसअघि थाहा नगरपालिकाका दुईपटक प्रमुख प्रशासकीय अधिकृत भैसकेका हरिलाल पुरी पनि आउँदो २०८२ भदौ १७ गते अवकाश पाउँदैछन् । चालू आर्थिक वर्षमा मुख्यसचिवदेखि कार्यालय सहयोगी सम्मका २ हजार २ सय एघार जना कर्मचारीले अवकाश पाउने हिसाव निकालिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहतको निजामती किताबखानाले आर्थिक वर्ष २०८२ / ८ ३ मा अवकाश पाउने कर्मचारीको सूची सार्वजनिक गरेको हो।

नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल मंसीर ९ गते अनिवार्य अवकाश पाउने भएका छन्।

अवकाश पाउने कर्मचारीको सूची हेर्न यहाँ क्लिक गर्नुहोस्।

पालिका प्रेस
थप जानकारी