गत २३ र २४ भाद्रमा युवा पुस्ता जेनजीको प्रदर्शनका कारण मकवानपुरका ८ वटा पालिकामा क्षति पुगेको छ । १० वटा स्थानीय तहमध्ये कैलाश र बागमती बाहेकका सबै पालिका प्रभावित बनेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

प्रदर्शनको क्रममा मकवानपुरका २१ वटा सरकारी कार्यालयको भवनमा क्षति पुगेको प्रारम्भिक तथ्यांक कार्यालयले जनाएको हो । १३ वटा संघीय कार्यालय, प्रदेशस्तरीय कार्यालय ६ र सार्वजनिक संस्थान २ वटामा क्षति पुगेको छ । १२ करोड ४२ लाख ४६ हजार भौतिक क्षति भएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

२५ वटा सरकारी कार्यालयका एक सय ४३ वटा सवारी साधनमा क्षति पुगेको छ । एकसय ११ वटा दुईपांग्रे र ३२ वटा चारपांग्रे सवारी साधनतर्फ ४ करोड ९० लाख २६ हजार रुपैयाँ क्षतिभएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले बताइन् । क्षति भएका संरचना पुनर्निर्माण गरी प्राथमिकताका आधारमा सरकारी कार्यालय सञ्चालनमा ल्याउन निजी क्षेत्रले सामाजिक उत्तरदायित्व वहन अन्तर्गत सहयोग गर्न प्रमुख जिल्ला अधिकारी श्रेष्ठले उद्योगी व्यापारीलाई आग्रह गरिन् ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरमा आयोजित छलफलमा मकवानपुर उद्योग वाणिज्य संघ, उद्योग संघ, नारायणी यातायात ब्यवसायी संघलगायत बहुर्राष्ट्रिय सहित औद्योगिक क्षेत्रका उद्योगीको सहभागीता रहेको थियो । हेटौंडामा रहेको युनिलिभर लिमिटेड बैठकमा अनुपस्थित रहेको भन्दै सहभागीले प्रजिअको ध्यानाकर्षण गराएका थिए ।

पालिका प्रेस
थप जानकारी