नागरिकको बृहत दबाबकाबीच मकवानपुरको थाहा नगरपालिकाको ‘थाहा बसपार्क’ सञ्चालनमा आउने आशा संभवतः पूरा हुने भएको छ । नगरपालिका हुनका लागि कानूनले तोकेको मापदण्ड ‘बसपार्क’ सञ्चालनका लागि स्थानीयहरुले पटक–पटक थाहा नगरपालिकालाई दबाब दिदै आएका छन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८ बमोजिम नगरपालिका हुनका लागि बसपार्कलाई पनि एउटा मापदण्डका रुपमा राखेको छ ।

दबाबमुलक कार्यक्रमसहित यात्रु बहाक सवारी बसपार्कमा स्वागत गर्दै स्थानीयहरु ।
स्थानीय नागरिकले ७ कार्तिकमा बसपार्क सञ्चालन गर्न पुनः सांकेतिक रुपमा विरोध जनाएर स्थानीय तहलाई दबाब दिए पश्चात् ८ कार्तिकमा स्थानीय र थाहा नगरपालिकाका नगर प्रमुख, उपप्रमुख र वडाध्यक्षसहितको टिमबीच छलफल भए पश्चात् अहिलेकै अवस्थामा बसापार्क सञ्चालन गर्ने निष्कर्षमा पुगेको छ । निर्माणाधिन बसपार्कको काउन्टरमा ग्रील तथा यात्रु प्रतीक्षालयमा बस्ने टेबल निर्माण गर्न नगर प्रमुखले निर्देशन गरेका छन् ।
त्यस्तै बसपार्क तत्काल सञ्चालन हुने गरी आधारभूत आवश्यकताको लागि बिजुली जडान र खानेपानीसहित शौचालय, सफाइ कार्य थाल्ने गरी कार्य अघि बढाइएको छ । स्थानीयहरुसँगको छलफलमा नगर प्रमुख बिष्णु बहादुर बिष्ट, उपप्रमुख भरत गोपाली र बसपार्क व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडा नम्बर ४ का अध्यक्ष नारायण लामा सहभागी थिए । छलफल पश्चात् प्रतिक्रिया दिदै अध्यक्ष लामाले भने–‘अबको केहीदिनमा बसपार्कबाटै यात्रु बाहक बस, सुमो तथा इभी लगायतका सवारी साधन छुट्नेछन्, हामी पानी, बिजुली तथा अन्य आधारभूत कुराहरु व्यवस्थापन गर्दैछौं ।’

निर्माणाधिन थाहा बसपार्क । फोटोः विशाल रायमाझी/पालिका प्रेस
यद्यपि थाहा नगरपालिकाका प्रथम नगर प्रमुख लवशेर विष्टले आफ्नो कार्यकाल सकिन करिब १ महिना अघिसम्म पनि बसपार्क निर्माण सम्पन्न गरेर मात्र आफू नेतृत्वबाट बारिरिने जनाए पनि उनी नेतृत्वको स्थानीय सरकारले बसपार्क निर्माण सम्पन्न गर्न सकेको थिएन । वि.सं. २०७८ सालको १३ चैत्रमा बसपार्क सञ्चालनका लागि स्थानीयले तत्कालिन नगर प्रमुख विष्टलाई ध्यानाकर्षण गराएका थिए । टोलीलाई जवाफ दिदै तत्कालिन नगर प्रमुखले बसपार्क सञ्चालनमा ल्याउने जनाएका थिए । थाहा ४ थानाबजारको नार्खुढाँडमा वि.सं. २०७५ सालदेखी निर्माण सुरु गरेकोमा हाल बसपार्कसम्म पुग्ने सडक पक्की ढलान निर्माण भएको छ । टिकट काउन्टर, शौचालय निर्माण भै सकेको छ ।
बसपार्क सञ्चाल भएपछि हाल शिखरकोटमा रहेको टिकट काउण्टर क्षेत्रको सवारी भिडभाड व्यवस्थापन हुने अपेक्षा गरिएको छ । यसअघि पनि वि.सं. २०८० वैशाख १८ गते स्थानीयहरुले बसपार्क सञ्चालनका लागि नगरपालिकालाई दबाब दिएका थिए । उनीहरुले दबाब स्वरुप स्वतस्फुर्त रुपमै थाहा बसपार्क व्यवस्थापन समिती गठन गरेका थिए । स्थानीय रामराजा केसीको अध्यक्षतााम सञ्चालक समिति गठन गरेर बसपार्क सञ्चालनका लागि उनीहरुले दबाब दिएका थिए । स्थानीयले थाहानगरको गौरवको आयोजना बसपार्कमा बनेको संरचना संरक्षण नहुँदा भत्किइसकेको तथा बसपार्क संचालन गर्न आवश्यक संरचना तयार हुँदा समेत बसपार्क संचालनमा नगरपालिकाको ध्यानाकर्षण नभएको भन्दै बसपार्क संरक्षण र संचालनको निम्ति व्यवस्थापन समिती गठन गरेर दबाब दिएका थिए ।

निर्माणाधिन थाहा बसपार्कको टिकट काउण्टर । फोटोः विशाल रायमाझी/पालिका प्रेस
थाहा नगरपालिकाको वडा नम्बर ४ स्थित नार्खूढाँडमा पहिलो पटक वि.सं. २०७४ सालमा निर्वाचित जनप्रतिनीधिहरुले विधिवत रुपमा २०७५ मंसिर ९ गतेबाट बसपार्क निर्माण प्रक्रिया अघि बढाएका हुन् । वि.सं. २०७४ सालमा निर्वाचित भएपछि प्रतिनीधिहरुले यस योजनालाई नगरकै गौरबको योजनाको रुपमा अघि बढाएका थिए । थानाबजार नजिकै रहेको ४८ रोपनी क्षेत्रफलमा बसपार्क निर्माणका लागि प्रक्रिया अघि बढाइको थियो । बसपार्क निर्माणका थाहा नगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ को बजेटमा ३० लाख, मकवानपुर प्रतिनीधि सभा–२ का तत्कालिन सांसद विरोध खतिवडा मार्फत संचालन हुने स्थानीय पूर्वाधार साँझेदार कार्यक्रम अन्तर्गत ५० लाख रुपियाँ विनियोजन गरेर पार्कको निर्णण प्ररम्भ गरिएको थियो ।
निर्माण थालिएको ५ वर्ष पछि शिलान्यास
थाहा बसपार्क निर्माण थालिएको ५ वर्ष पछि शिलान्यास भयो । थाहा बसपार्कमा आधुनिक टर्मिनल भवनको जग पुजा गरेर वि.सं. २०८० कार्तिक २० गते थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले शिलान्यास गरेका थिए ।

शिलान्यास ।
पहिलो चरणको कार्यक्रममा साढे सात करोडको लगानीमा टर्मिनल भवन, बगैचा, रेष्टुरेन्ट, सपिङ स्टल, अपाङ्गमैत्री शौचालय, सवारी चालकलाई आराम गर्ने कक्ष, ग्यारेज, प्रहरी बिट पक्की सडक, सडक बत्ती सहितका संरचनाहरु निर्माण गर्ने गरी ठेक्का भएको योजनाको शिलन्यास भएको थियो । सि एण्ड ब्रदर्स कन्स्ट्रक्शनले उक्त ठेक्का पाएको थियो ।
नेपाल सरकार सहरी विकास मन्त्रालय अन्तर्गत सघन शहरी तथा भवन निर्माण आयोजना चितवनको एकीकृत शहरी पुर्वाधार विकास अन्तर्गत ७ करोड २१ लाख लागत रहेको सो कार्य २०८१ भदौ २० गते सम्पन्न गरिसक्नुपर्ने गरी वि.सं. २०७९ चैत २१ गते सम्झौता रहेको थियो । यद्यपि उक्त सम्झौता अनुसारको भौतिक प्रगती अझै पनि देखिएको छैन ।
यसरी शुरु भयो बसपार्कको ‘एजेण्डा’
तत्कालिन दामन–पालुङ नगर विकास समितिले बसपार्कको प्रस्ताव तयार गरी आजभन्दा २४ वर्ष अघि प्रक्रिया अघि बढाएको थियो । नगरपालिका घोषणा भए पश्चात् मात्र यहाँ बसपार्क निर्माणको ‘एजेण्डा’ उठेको भने होइन । नगरपालिका घोषणा नहुँदै आजभन्दा २४ वर्षअघि तत्कालिन दामन–पालुङ नगर विकास समितिले बसपार्कको सोच ल्याएको थियो । वि.सं. २०५८ सालमा तत्कालिन नगर विकास समितिका अध्यक्ष नेत्रमान प्रधान नेतृत्वको समितिले ल्याएको बसपार्क बनाउने योजना हो । त्यत्तिबेला इन्द्रायणी चौर पूर्वपट्टी क्षेत्रको २८ रोपनी क्षेत्रफलमा पालुङ बसपार्क प्रस्ताव गरिएको थियो । हालको थाहा नगरपालिका वडा नं. ३ मा पर्ने उक्त ऐलानी परती जग्गामा बसपार्क निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) समेत तयार भएको थियो ।

थाहा बसपार्क निर्माण सम्बन्धी कामको प्ररम्भ गरिँदै । फोटोः पालिका प्रेस
नगर विकास समितिले बनाएको डिपीआरको आधारमा भौतिक योजना मन्त्रालयले उतिबेलै ४५ लाख रुपियाँ विनियोजन गरेकोमा साविकका दामन र पालुङ गाविसले निर्माण सहमति दिन ढिलाई गर्दा बजेट फ्रिज भएको प्रधानले बताए । उनले भने–‘एकातिर अनुमतिमा ढिलाई अर्कोतर्फ बजार क्षेत्रबाट अन्यत्र बसपार्क गएपछि व्यपार हुन्न भन्ने बजार क्षेत्रका मानिसहरुको सोचबाट योजना तुहाइयो, अहिले ढिलै भएपनि ठाउँ फेरेर योजना कार्यान्वयनमा आएको छ, यसमै खुशी छु ।’ राजनीतिक नियुक्तिको आधारमा नगर विकास समितिको अध्यक्ष पाइने भएको हुँदा काम गर्दागर्दै सरकार फेरियो, नगर विकासको नेतृत्व फेरियो अनि एकले शुरु गरेको योजना अर्को नेतृत्वले निरन्तरता नदिने प्रतिशोधका कारण बसपार्क बन्न नसकेको प्रधानको भनाइ छ । उनको नेतृत्वमा रहेको समितिमा तत्कालिन एमालेका प्रेम केसी, राप्रपाका भिम बहादुर भोम्जन, काँग्रेसका कमल गोपाली, गणेश लामा, शेर बहादुर गोपाली लगायत थिए ।
प्रधानको नेतृत्वपछि दामन–पालुङ नगर विकास समितिको अध्यक्षमा तत्कालिन राप्रपाका कृष्णध्वज कार्की, काँग्रेसका भरत लामा, भरत गोपाली तथा नेकपा माओवादीका अरुण रायमाझी नगर विकास समितिको अध्यक्षमा मनोनित भएका थिए । तत्कालिन बसपार्क निर्माणका योजना अनुसार शिखरकोट घर्तिखोलाहुँदै पालुङबाट पनि बसपार्क पुग्ने तथा थानाबजारबाट र जेसीजमार्गको बाटो स्तरीकरण गरेर बसपार्कलाई एकीकृत गर्ने डिपीआरमा उल्लेख थियो । बसपार्कमा टिकट घर, खानेपानी, शौचालय, पालेघर र कम्पाण्ड निर्माणको विस्तृत योजना रहेको थियो । ‘मन्त्रालयले विनियोजन गरेको बजेटले योजना अनुसार काम गर्न पुग्थ्यो तर, पद खुस्किहाल्यो प्रधानले भने ।’
काम थाल्ने स्थानीय निकाय, काम गर्ने स्थानीय सरकार
थाहा बसपार्कको नाम तत्कालिन दामन गाविस र दामन–पालुङ संयुक्त आर्थिक विकास सहयोग समितिले दिएको हो । दामन गाविस र आर्थिक विकास समितिले हाल बसपार्क निर्माण स्थलमा थाहा बसपार्क निर्माण गर्ने गरी बजेट विनियोजन गरेको थियो । ति दुई निकायले ४०/४० हजार रुपियाँ बजेट विनियोजन गरेको तत्कालिन थाहा बसपार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष उकेशचन्द्र केसीले जानकारी दिए ।

निर्माणाधिन थाहा बसपार्क । फोटोः विशाल रायमाझी/पालिका प्रेस
वि.सं. २०६४ सालमा विनियोजित बजेटबाट बसपार्क निर्माण स्थल सम्याउने, ढङ्गा फुटाउने कार्य गरेको भएपनि सहज बाटो अभावका कारण निर्माण कार्यका लागि वर्षेनी बजेट विनियोजन हुन नसकेको केसीले बताए । बसपार्कको नाम जुराउनको लागि उतिबेला ज्योति रायमाझी, अरुण रायमाझी, बलराम बल तथा उकेशचन्द्र केसीको बैठक नै बसेको थियो । केसीले भने–‘बैठकले नाम जुरायो थाहा बसपार्क’ । तर सडक लैजान भएको कठिनाई भइरहेका बेला पहिलो जनप्रतिनीधि आएपछि जग्गाको समस्या फुकेको हो ।

तत्कालिन दामन गाविसको कार्यालय (विकास घर ।

















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्