मकवानपुर थाहा नगरपालिकामा ‘थाहा बसपार्क’ सञ्चालनमा आउने भएको छ । थाहा नगरपालिका वडा नम्बर ४ नार्खुढाँडमा निर्माण शुरु भएको ७ वर्षपछि थाहा बसपार्क अब संचालनमा ल्याउन लागिएको हो ।

थाहा ४ किटेनीका युवाहरूले निरन्तर दवाब दिँदै आएका कारण थाहा नगरपालिकाले बसपार्क संचालनका लागि आवश्यक तयारी तीव्र पारेको हो । बुद्धचोक थानाबजार बजार व्यवस्थापन समितिका सचिव ज्ञानेन्द्र अधिकारीका अनुसार बसपार्क सम्म पुग्ने सडक, बिजुली जडान, खानेपानी, शौचालय र यात्रु बस्ने कुर्सीलगायतका आधारभूत पूर्वाधारको व्यवस्था भइसकेको छ । अधिकारीका अनुसार कार्तिक १९ गतेदेखि बसपार्कबाट यात्रुबाहक बस, सुमो, इभीलगायतका सवारी साधनहरू छुट्ने गरी तयारी करिब पूरा भइसकेको छ । नारायणी यातायात व्यवसायी संघका प्रतिनीधिहरुले बसपार्क सञ्चालनका लागि तयार गरिएको संरचनाहरुको समेत स्थानीय सुरक्षा निकायका प्रतिनीधिसहितको उपस्थितीमा निरीक्षण समेत गरेको अधिकारीले प्रतिक्रिया दिए ।

यसअघि ७ कार्तिकमा स्थानीयले बसपार्कमा यात्रुवबहाक सावरी लगेर सांकेतिक विरोध प्रदर्शन गरेका थिए । त्यसपश्चात् ८ कार्तिकमा स्थानीय युवा, थाहा नगरपालिकाका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष लगायतको टिमबीचको छलफलपछि बसपार्क संचालन गर्ने सहमति भएको थियो ।

यसैबीच नारायणी यातायात व्यवसायी संघमा आवद्ध यात्रुवबहाक सवारी साधानहरु ‘थाहा बसपार्क’बाटै सञ्चालनको व्यवस्था मिलाउन थाहा नगरपालिकाले ९ कार्तिकमासंघलाई परिपत्र समेत गरेको थियो । ‘थाहा बसपार्क’ वि.सं. २०७५ सालदेखि निर्माण सुरू भएको थियो ।

थाहा बसपार्क सञ्चालनमा आएपछि हाल शिखरकोट क्षेत्रमा हुने सवारी भिडभाड कम भई यातायात व्यवस्थापनमा सहजता आउने अपेक्षा गरिएको छ ।

पालिका प्रेस
थप जानकारी