मकवानपुरको राक्सिराङ गाउँपालिकाको जिर्खे खोलामा पहिलो पटक पक्की पुल निर्माण हुने भएको छ । मनहरी गाउँपालिका र राक्सिराङ गाउँपालिकालाई जोड्ने उक्त पुल प्रदेश सरकारको बजेटमा निर्माण हुन लागेको हो। भौतिक पूर्वाधार तथा विकास मन्त्रालयअन्तर्गत प्रदेश सरकारबाट बजेट प्राप्त भएसँगै पुल निर्माण प्रक्रिया अघि बढेको हो।
मनहरी गाउँपालिका तथा राक्सिराङ गाउँपालिकाका इन्जिनियर निरोज महतका अनुसार पुलको लागत अनुमान ८ करोड १४ लाख रुपैयाँ रहेको छ भने ठेक्का सम्झौता ६ करोड ५३ लाख ३० हजार ९५४ रुपैयाँमा भएको छ । गत असार महिनामा ठेक्का सम्झौता भएको उक्त पुल दुई वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्नेछ। पुल ३५–३५ मिटरका दुईवटा स्पानसहित कुल ७२ मिटर लामो हुनेछ।
राक्सिराङ गाउँपालिका–३ का स्थानीय थापा बहादुर दोङका अनुसार यस क्षेत्र आसपास करिब २६ हजार जनसंख्या बसोबास गर्दै आएका छन्। पुल निर्माणपछि राक्सिराङ मात्र नभई छिमेकी कैलाश गाउँपालिकाका झण्डै आधा जनसंख्याले प्रत्यक्ष लाभ लिने अपेक्षा गरिएको छ। पुल नहुँदा जिर्खे खोलामा हरेक वर्ष जोखिमपूर्ण अवस्था सिर्जना हुँदै आएको स्थानीयवासीको भनाइ छ।
खोला सानो देखिए पनि वर्षायाममा धेरै मानिस बगाएको तथा बोलेरो गाडीसमेत बगाएको घटना भएको उल्लेख गर्दै स्थानीयले पुल निर्माणपछि आवतजावत, स्वास्थ्य सेवा, शिक्षा र व्यापारमा ठूलो सहजता आउने विश्वास व्यक्त गरेका छन् ।















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्