मकवानपुरको दुर्गम राक्सिराङ गाउँपालिकास्थित जिर्खे खोलामा निर्माणाधीन पहिलो पक्की पुलको काम ठेक्दार कम्पनीको ढिलासुस्तीका कारण अपेक्षित गतिमा अघि बढ्न सकेको छैन। ठेक्का सम्झौता भएको एक वर्ष बितिसक्दा पनि पुलको भौतिक प्रगति २५ प्रतिशतमा सीमित रहेको छ।
मनहरी गाउँपालिका र राक्सिराङ गाउँपालिकालाई जोड्ने उक्त पुल बागमती प्रदेश सरकारको बजेटमा निर्माण भइरहेको हो। दुर्गम क्षेत्रका स्थानीयका लागि निकै महत्त्वपूर्ण मानिएको पुल निर्माणमा ढिलाइ हुँदा स्थानीयवासीमा चिन्ता बढेको छ।भौतिक पूर्वाधार तथा विकास मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालय मकवानपुरका इन्जिनियर निरोज महतका अनुसार पुल निर्माणको लागत अनुमान ८ करोड १४ लाख रुपैयाँ रहेको छ भने ६ करोड ५३ लाख ३० हजार ९ सय ५४ रुपैयाँमा ठेक्का सम्झौता भएको हो।
उनका अनुसार हालसम्म करिब ५० प्रतिशत काम सम्पन्न भइसक्नुपर्ने भए पनि भौतिक प्रगति २५ प्रतिशत र आर्थिक प्रगति २३ प्रतिशत मात्रै भएको छ। निर्माणमा हालसम्म १ करोड ५४ लाख ४४ हजार रुपैयाँ खर्च भइसकेको उनले जानकारी दिए। इन्जिनियर महतले तोकिएको समयमै काम सम्पन्न नभए प्रचलित कानुनअनुसार ठेक्दार कम्पनीमाथि कारबाही प्रक्रिया अघि बढ्न सक्ने बताए।
गत असारमा ठेक्का सम्झौता भएको उक्त पुल दुई वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने व्यवस्था छ। ३५–३५ मिटरका दुई स्पानसहित पुलको कुल लम्बाइ ७२ मिटर हुनेछ। आगामी आर्थिक वर्षको असारभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहे पनि हालसम्मको प्रगति सन्तोषजनक नरहेको कार्यालयले जनाएको छ। राक्सिराङ गाउँपालिका–३ का स्थानीय थापाबहादुर दोङका अनुसार पुल निर्माण सम्पन्न भएपछि राक्सिराङका साथै छिमेकी कैलाश गाउँपालिकाका गरी करिब २६ हजारभन्दा बढी नागरिक प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्।
स्थानीयका अनुसार जिर्खे खोला वर्षायाममा अत्यन्त जोखिमपूर्ण बन्छ। विगतमा खोलाले धेरै मानिस बगाएको तथा बोलेरो गाडीसमेत बगाएको घटनाहरू भएका छन्। पुल निर्माण भएपछि आवतजावत, स्वास्थ्य सेवा, शिक्षा तथा व्यापार–व्यवसायमा ठूलो सहजता आउने उनीहरूको विश्वास छ। राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले एक वर्षको अवधिमा पुलका दुईवटा पिल्लरको जग मात्रै निर्माण भएको भन्दै ठेक्दारको ढिलासुस्तीप्रति असन्तुष्टि व्यक्त गरे।
उनले भने, “अहिले बनेको संरचना पनि वर्षायाममा खोला बढ्दा बग्ने जोखिम छ। समयमा गर्नुपर्ने काम नगर्दा बनेको संरचनासमेत खेर जाने अवस्था सिर्जना भएको छ।”



















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्