मकवानपुर थाहा नगरपालिकाको ३ वटा वडामा ३० भन्दा कम मतान्तरमा ०७४ सालमा दुई दलले विजय हासिल गरेको तथ्याङ्क छ ।

राष्ट्रिय रुपमै बलिया मानिएका नेकपा एमाले, नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको थाहानगरमा पनि उत्तिकै प्रतिस्पर्धा देखिएको थियो । २०७४ सालको स्थानीय तह सदस्य निर्वाचनमा नेकपा एमालेले २ वटा र नेपाली काँग्रेसले एउटा वडामा ३० भन्दा कम मतान्तरमा पराजय बेहोरेको हो ।

नगर प्रमुख र उपप्रमुख पदमा माओवादी केन्द्र र नेपाली काँग्रेसबीच गठबन्धन भई चुनावमा होमिएको थाहानगरमा २०७४ सालको निर्वाचनमा थाहा नगरपालिका वडा नम्बर १ मा एमालेका धर्मलाल प्रधानले २९ मतान्तरमा पराजित बेहोर्नु परेको थियो । वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रका हेरमान गोपालीले ५ सय ५६ मत प्राप्त गर्दा एमालेका प्रधानले ५ सय २७ मत प्राप्त गरेका थिए ।

त्यस्तै वडा नम्बर ९ मा नेकपा एमालेका लक्ष्मण रेग्मीले पालिकामै सबैभन्दा कम १२ मतले पराजित हुनु परेको थियो । ९ नम्बर वडामा नेकपा माओवादी केन्द्रका उमेद्वार परशुराम श्रेष्ठले ५ सय २२ मत प्राप्त गर्दा रेग्मीले ५ सय १० मत मात्र पाएका थिए ।

थाहा नगरपालिकाकै वडा नम्बर १० मा नेपाली काँग्रेसका उमेद्वार कर्ण बहादुर गोपालीले २५ मतान्तरले पारजित हुनु परेको थियो । सबै वडा सदस्य नेपाली काँग्रेसको उमेद्वार विजयी भैरहँदा १० नम्बर वडामा एमालेका हिरा बहादुर गमालले ५ सय ४२ मतसहित विजयी भएका थिए । गोपालीले भने जम्मा ५ सय १७ मत पाएका थिए ।

थाहा नगरपालिकामा १२ वटा वडा रहेका छन् ।

दिनेश दर्पण
थप जानकारी