मकवानपुरको राक्सिराङ गाउँपालिकाले चालु आर्थिक वर्षको बजेट कार्यान्वयन गराउन वार्षिक कार्ययोजनासमेत स्वीकृत गरेको छ । स्वीकृत कार्ययोजनाअनुसार राक्सिराङले चालु आर्थिक वर्षका योजना कार्यान्वयन गराउन आगामी मंसिर मसान्तसम्ममा सबै योजनाहरुको सम्झौता गरिसक्नेछ । साथै ४५ लाखसम्मका योजना उपभोक्तामार्फत र सोभन्दा माथिका योजनाको ठेक्का प्रक्रियाबाट काम गर्ने पनि कार्ययोजनामा उल्लेख गरिएको छ । ८ लाखसम्मको योजना वडा कार्यालयबाटै सम्झौता र कार्यान्वयन गर्नेगरी कार्ययोजना बनाइएको र आगामी चैत मसान्तभित्र गाउँपालिकाको सबै योजनाहरु सम्पन्न गरिसकिने गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताए ।

गाउँ कार्यपालिकाको ३१ साउनमा सम्पन्न बैठकले गाउँपालिकाले आफ्नो क्षेत्रभित्रको सार्वजनिक कार्यक्रममा खादा र ब्याच वितरणमा पनि रोक लगाएको छ । सार्वजनिक कार्यक्रममा अनावश्यक रुपमा खादा र ब्याचको प्रयोग गर्दा आर्थिक र वातावरणीय रुपमा समेत नकारात्मक प्रभाव पर्ने भएकाले त्यस्तो कार्यलाई रोक लगाउने निर्णय भएको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए । स्थानीय सामाग्रीबाट उत्पादन भएका मौलिक खादा र मालाको मात्रै प्रयोग गर्न प्रोत्साहन गर्ने उद्देश्यले आयातित खादा रोक लगाइएको उनले बताए ।

सार्वजनिक संघसंस्था तथा कार्यालयको सय मिटर वरपर मदिरा तथा सूर्तिजन्य पदार्थ बिक्री वितरणमा रोक लगाएको छ । ३१ साउनमा बसेको कार्यपालिकाको बैठकले शैक्षिक संस्था, स्वास्थ्य संस्थालगायत सार्वजनिक संस्थाका कार्यालयको सय मिटर क्षेत्र वरपर गुट्खालगायत सूर्तिजन्य पदार्थ र मदिरा बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको हो । साथै १८ वर्षमुनिका बालबालिकाहरुलाई मदिरा तथा सूर्तिजन्य पदार्थ बिक्री नगर्न स्थानीय व्यवसायीलाई सचेत गराउने निर्णयसमेत गरिएको छ ।

गाउँपालिकाले पत्रु खानेकुरालाईसमेत निरुत्साहित गर्ने भएको छ । चिसो पेय पदार्थ, चाउचाउलगायतका तयारी पत्रु खानाले स्वास्थ्यमा र आर्थिक रुपमा नोक्सान भएको भन्दै त्यस्तो खानेकुरा प्रयोगमा निरुत्साहित गर्दै जाने नीति लिएको हो । गाउँ कार्यपालिकाको बैठकले नगर प्रहरी नियुक्तिसम्बन्धी कार्यविधि पनि स्वीकृत गरेको छ । गाउँमा अब असईको नेतृत्वमा २ जना महिलासहित ७ जना प्रहरी नियुक्त हुनेछन् । ४० वर्ष नटेका पूर्व सेना र प्रहरीलाई नगर प्रहरीमा भर्ति गरिने गाउँपालिकाले जनाएको छ ।

पालिका प्रेस
थप जानकारी