मकवानपुरको विकट मानिने कैलाश गाउँपालिकामा पनि चाडपर्व लक्षित बजार अनुगमन थालिएको छ । गाउँपालिकाले बजार अनुगमन निर्देशिका २०८० स्वीकृत गरी प्रभावकारी रुपमा कार्यान्वयन सुरु गरेको बताइएको छ ।

गाउँपालिकाले स्वच्छ र प्रतिस्पर्धात्मक बजार कायम गरी उपभोक्ताको हितसंरक्षणका लागि बस्तु तथा सेवाको आपूर्ति मूल्य, गुणस्तर शुद्धता र परिणामलगायत विषयमा अनुगमन तथा निरीक्षण कार्यलाई व्यवस्थित गर्न निर्देशिका बनाई स्वीकृत गरेको अध्यक्ष लोकबहादुर मुक्तानले जानकारी दिए । गाउँपालिकाले सोही निर्देशिका बमोजिम सोमबार पालिकाभित्रको बजार क्षेत्रको अनुगमन गरेको हो । पालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद रोका, योजना प्रमुख सुरेश न्यौपानेसहित स्थानीय प्रहरीचौकीमा कार्यरत सुर क्षाकर्मीसमेतको टोलीले बजार क्षेत्रको अनुगमन गरेको हो ।

साना तथा ठूला खाद्यान्न पसल, होटल, मेडिकल र अन्य पसलहरु दर्ता तथा नवीकरण भए नभएको, मूल्यसूचि तथा साइनबोर्ड टाँस भएनभएको, म्याद गुज्रेका खाद्यान्न तथा उपभोग्य सामग्री बिक्री भएनभएको विषयमा अनुगमन गरिएको प्रमुख प्रशासकीय अधिकृत रोकाले जानकारी दिए । अनुगमनका क्रममा म्याद नाघेका खाद्यान्न बरामद गरी नष्ट गरिएको, दर्ता नवीकरण नभएका पसल व्यवसायलाई दर्ता नवीकरण प्रक्रिया अघि बढाउन सुझाव दिइएको रोकाले बताए । उनले अनुगमन चाडपर्व लक्षित भएता पनि आगामी दिनमा निर्देशिका बमोजिम नै अनुगमन कार्यलाई निरन्तरता दिइने बताए ।

पालिका प्रेस
थप जानकारी