नेपाल विद्यार्थी संघ (नेविसंघ)ले विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिको माग गर्दै थाहा नगरपालिकामा ज्ञापनपत्र बुझाएको छ । देशभरका स्थानीय तहमा ज्ञापनपत्र बुझाउने कार्यक्रम अन्तर्गत थाहा नगरपालिकामा पनि ज्ञापनपत्र बुझायएको हो । नेपाल विद्यार्थी संघले आफ्नो ५५ औँ स्थापना दिवसको अवसरमा नेपालको आधारभूत र माध्यमिक तहसम्मको शिक्षाको गुणस्तर अभिवृद्धिको माग र सुधारका सुझावसहित ज्ञापनपत्र बुझाएको केन्द्रीय प्रतिनिधि सागर घिमिरेले जानकारी दिए ।

थाहा नगरपालिकामा नेपाल विद्यार्थी संघका केन्द्रीय प्रतिनिधि सागर घिमिरे र नेविसंघ थाहानगर अध्यक्ष रोशनी गोपालीलगाएतका विद्यार्थीले थाहानगर उपप्रमुख भरत गोपालीलाई ज्ञापनपत्र बुझाएको हो । उनीहरूले विद्यालय शिक्षालाई पूर्णरुपमा निःशुल्क गर्नुपर्ने, शिक्षण सिकाइ सुधार गर्न शैक्षिक अवस्थाको अनुगमन गर्नुपर्ने, शिक्षा क्षेत्रको बजेट बृद्धि गर्नुपर्नेलगायका माग राखेका छन् ।

नेविसंघलका अनुसार–देशभरकै ७५३ वटा स्थानीय तहमा ज्ञापनपत्र बुझाइएको छ । ज्ञापनपत्रमा विद्यालयमा कार्यरत कर्मचारीलाई सरकारले तोकेको न्यूनतम परिश्रमिकभन्दा कम नहुने गरी भुक्तानी गर्नुपर्ने, वार्षिक शैक्षिक योजना बनाई कार्यान्वयन गर्न निर्देशन दिनुपर्नेलगायत उल्लेख गरिएको छ । १७ बुँदे मागपत्रमा प्रविधिमार्फत् बालबालिकामाथि हुने उत्पीडन एवं दूव्र्यवहार रोक्न ठोस नीति निर्माण गर्नुपर्ने, लागू औषध दुव्र्यसन रोक्न ठोस नीति कार्यान्वयन गर्नुपर्ने पनि उल्लेख गरिएको छ ।

ज्ञापनपत्रमा पहिलो बुँदामै विद्यालय शिक्षा निःशुल्क हुने संविधानको व्यवस्था कडाईका साथ लागू हुनुपर्ने माग गरिएको छ । नेपालको संविधान, २०७२ को धारा ३१, अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५ को दफा २ (छ), सोही ऐनको दफा २० र नियमावली २०६६ को नियम ५ अनुसार माध्यमिक तह सम्मको शिक्षा निःशुल्क हुने व्यवस्था भएपनि सो व्यवहारमा नभएको ज्ञापनपत्रमा उल्लेख छ ।

त्यस्तै नेविसंघले निजि विद्यालयले स्टेशनरी र युनिफर्ममा लगाएको सिण्डिकेट अन्त्य गर्नुपर्ने, एकपटक भर्ना गरेपछि हरेक वर्ष भर्ना गर्नुपर्ने व्यवस्था हटाउनुपर्ने माग पनि गरेको छ । हरेक शुक्रबार हप्ताको एक दिन विद्यार्थीका लागि स्किल अप अर्थात सिपमूलक कक्षा सञ्चालन गर्ने व्यवस्था गर्न पनि नेविसंघको माग छ । ‘यस पालिका अन्तर्गत स्थापना भएका प्रत्येक विद्यालयमा छात्राहरुको स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै “एक छात्रामैत्री कक्ष” सहित “एक नर्सिङ कक्ष” स्थापना गर्न गराउन माग गर्दछौँ’– नेविसंघको ज्ञापनपत्रमा भनिएको छ ।