जिल्ला प्रहरी कार्यालय मकवानपुरले विभिन्न सवारी साधन तथा मेशिनरी सामानहरु लिलाम विक्रि गर्ने भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले पुराना सरकारी सवारी साधन तथा स्वामित्व नखुलेका वेवारिसे मोटरसाईकल र मेशिनरी सामानहरु लिलाम बिक्रीका लागि बोलपत्र आव्हान गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजालले शुक्रबार एक सूचना प्रकाशित गर्दै कार्यालयमा रहेका पुराना सवारीसाधन, विभिन्न समयमा जफत गरेका वेवारिसे मोटरसाइकल र प्रयोगमा ल्याउन नसकिने अवस्थाका पुराना मेशिनरी सामाग्री जस्तो अवस्थामा छ, सोही अवस्थामा लिलाम बिक्री गर्न लागिएको बताए ।

रिजालका अनुसार विभिन्न समयमा जफत गरेका वेवारिसे मोटरसाइकल १५४ वटा, सरकारी सवारी साधनहरु जीप दुई वटा र मोटरसाइकल एउटा लिलाम बिक्री हुनेछ । यस्तै, मेशिनरी सामानहरु टिभी ७ थान, प्रिन्टर ४ थान, युपिएस १ थान र मेघाफोन १४ थान रहेको उहाँले बताउनुभयो । वेवारिसे मोटरसाइकलहरुको मूल्य ६ लाख ८१ हजार ३४० रुपैयाँ, तीन वटा सरकारी साधनहरुको १ लाख २७ हजार ९४८ र मेशिनरी सामानहरुको ९ हजार ९ सय रुपैयाँ न्यूनतम मूल्य तोकिएको छ ।

उक्त सामग्रीहरु खरिद गर्न १५ दिनभित्र जिल्ला प्रहरी कार्यालय मकवानपुरको आर्थिक प्रशासन शाखाबाट कोटेशन लिन सकिने जनाइएको छ । प्रहरी उपरीक्षक रिजालले जफत भएका तीन वटा सरकारी सवारी साधनहरु पनि नचल्ने अवस्था रहेकाले लिलामीमै बिक्री गर्न लागेको बताए । कुनै कागजात नभएका कारण चलाउन पनि नमिल्ने भएकाले उक्त साधनहरु अब कवाडका काम प्रयोग हुने उनले बताए ।a

पालिका प्रेस
थप जानकारी