आर्थिक वर्ष २०८१/०८२ का लागि मकवानपुर थाहा नगरपालिकाले बजेट पास गरेको छ । ७ असारमा बसेको १६ औं नगरसभाको पहिलो बैठकबाटै नीति तथा कार्यक्रमसहित बजेट स्वीकृत गरेको हो । नगरसभा सम्पन्न भएसंगै पालिकाको १२ वटै वडाका १ सय ४५ वटा योजनालाई विनियोजन गरेको बजेट समेत स्वीकृत भएको छ ।
नगरसभाबाट पास भएका सबै वडाका १ सय ४५ वटा योजना मध्ये ४७.५८६ अर्थात ६९ वटा योजना सडकको मात्र रहेको पाइएको छ । योजना संख्याको आधारमा सबैभन्दा बढि ९ नम्बर वडाको सडक योजना स्वीकृत भएको छ । यस वडाको आर्थिक वर्ष २०८१/०८२ का लागि ९ वटा योजना स्वीकृत भएकोमा ८ वटा सडक र एउटा खानेपानी योजना रहेको छ । सबैभन्दा कम ११ नम्बर वडाको सडक योजना स्वीकृत भएको छ । यस वडामा १४ वटा योजना रहेकोमा एउटा मात्र योजना सडक रहेको छ । ११ नम्बर वडामा ५ वटा गोरेटोबाटो, ३ वटा भवन पूर्वाधार, २ वटा खानेपानी, १ वटा साना पूर्वाधार मर्मत र अन्य २ वटा योजना स्वीकृत भएको छ ।
वडा नम्बर १ को योजनागत प्रतिशतका आधारमा ३८.५ प्रतिशत सडक योजना स्वीकृत भएको छ । १ नम्बर वडाका लागि १३ वटा योजना स्वीकृत भएकोमा ५ वटा सडक, ४ वटा गोरेटोबाटो, १ वटा सामुदायिक भवन पूर्वाधार, संस्कृति सम्पदा, पर्यटन र साना पूर्वाधार मर्मतको १/१ वटा योजना स्वीकृत भएको छ । २ नम्बर वडाका लागि योजना संख्याको ७० प्रतिशत सडक योजना स्वीकृत छ। १० वटा योजना स्वीकृत भएको उक्त वडाको ७ वटा सडक पूर्वाधार मात्रै स्वीकृत छ । संस्कृति, पर्यटन र साना पूर्वाधार शीर्षकमा पर्ने योजना १/१ वटा स्व्किृत भएको छ । ३ नम्बर वडाको ४० प्रतिशत सडक योजना स्वीकृत भएको छ । कुल १५ योजना स्वीकृत भएकोमा वडाको सडकमा ६ वटा, पर्यटनतर्फ ३, अन्य २ तथा गोरेटोबाटो, सम्पदा, तटबन्धन र सिंचाइका १÷१ वटा योजना रहेको छ ।
वडा नम्बर ४ ले योजनाको ५६ प्रतिशत सडकका योजना स्वीकृत गराएको छ । कुल १६ वटा योजना स्व्ीकृत भएकोमा ९ वटा सडकका योजना छन् । गोरेटो बाटो र अन्य योजनामा ३/३ वटा योजना स्वीकृत भएको छ भने साना पूर्वाधार मर्मततर्फ एउटा योजना स्वीकृत भएको छ । ५ नम्बर वडाको कुल योजनाको ५३ प्रतिशत अर्थात ८ वटा योजना सडकको मात्र स्वीकृत भएको छ । १५ वटा योजना स्वीकृत भएको उक्त वडाको ३ वडा भवन पूर्वाधारका योजना स्वीकृत भएको छ भने गोरेटोबाटो, सम्पदा संरक्षण, तटबन्धन र खेलकुद पूर्वाधारमा १/१ वटा योजना स्वीकृत भएका छन् ।
वडा नम्बर ६ को ९ योजना मध्ये २ वटा योजना मात्र सडक योजना स्वीकृत भएको छ । यस वडामा २ वटा योजना वस्ती विकासको योजना स्वीकृत भएको छ । अन्य वडाको तुलनामा यस वडाले यो २ वटा नयाँ योजना पास गरेको हो । गोरेटोबाटो, भवन पूर्वाधार, सम्पदा संरक्षण र अन्यमा १/१ वटा योजना सभाबाट पास भएको छ । ७ नम्बर वडाको ६९ प्रतिशत योजना सडकको पास भएको छ । कुल १३ वटा योजना पारित भएकोमा उक्त वडाको ९ वटा योजना सडकको मात्र छ । गोरेटोबाटो, भवन पूर्वाधार, पर्यटन र अन्य क्षेत्रका लागि १/१ वटा मात्र पास भएको छ । ८ नम्बर वडाको ६० प्रतिशत योजना सडकको छ । १० वटा योजना पास भएकोमा वडाले ६ वटा सडकको योजना छानेको थियो । गोरेटोबाटो २ वटा, संस्कृति सम्पदा र खानेपानीका १/१ वटा योजना स्वीकृत भएको छ ।
१० नम्बर वडाको ४० प्रतिशत योजना सडकको रहेको छ । १० वटा योजना पास भएकोमा वडा ले ४ वटा सडकको छानेको थियो । गोरेटोबाटो, भवन पूर्वाधार र सम्पदा संरक्षणमा २/२ वटा योजनाका लागि बजेट विनियोजन भएको छ । वडा नम्बर १२ कोे योजनाको ३६ प्रतिशत सडक योजना स्वीकृत भएको छ । ११ वटा योजना छानेको १२ नम्बर वडाले गोरेटो बाटोको २ वटा स्वीकृत गरेको छ । भवन पूर्वाधार, सम्पदा संस्कृति, खानेपानी अन्य र साना पूर्वाधार मर्मतमा १/१ वटा योजना स्वीकृत गरी बजेट विनियोजन गरिएको छ ।
थाहा नगरपालिकाले ७ असारमा पास गरेको बजेट अनुसार १२ वटा वडाका लागि १० करोड १० लाख ९० हजार रुपियाँ बजेट विनियोजन भएको छ । यस अनुसार वडा नम्बर १ ले ८८ लाख ८० हजार, २ नम्बर वडाले ८७ लाख, ३ नम्बर वडाले ८७ लाख ५० हजार, ४ ले ८६ लाख, ५ ले ८४ लाख ५० हजार, ६ नम्बर वडाले ६२ लाख बजेट पाएको छ । त्यसैगरी वडा नम्बर ७ ले ७८ लाख, ८ नम्बर वडाले ८५ लाख, ९ नम्बर वडाले ८२ लाख ५० हजार, १० ले ८८ लाख ८० हजार, ११ ले ८७ लाख १० हजार र १२ नम्बर वडाले ९४ लाख ५० हजार रुपियाँ बजेट पाएको छ ।
प्रतिक्रिया दिनुहोस्