
न्यायिक समिति क्षमता अभिवृद्धि गर्ने उद्देश्यले मकवानपुर थाहा नगरपालिकामा तीन दिने न्यायिक समितिलाई क्षमता अभिवृद्धिसहित पुनर्ताजगी तालिम सुरु भएको छ । थाहानगरको थानाबजार स्थित फेमेली होटल तथा ब्याङ्क्युइटको सभाहलमा २७ वैशाखबाट तालिम शुरु भएको हो । कार्यक्रममा न्यायिक समितिले गर्ने काम र क्षमता अभिवृद्धि गर्ने उदेश्यले नगरपालिका भित्र रहेका मेलमिलाप केन्द्रका संयोजक तथा सदस्यहरुको तालिममा सहभागीता रहेको छ ।
थाहा नगरपालिका न्यायिक समिती संयोजक भरत गोपालीको सभाध्यक्षतामा भएको कार्यक्रम प्रमुख अतिथी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान रहेका थिए । प्रमुख अतिथी प्रधानले न्याय सम्पादनमा न्यायिक समिति र मध्यस्थकर्ताहरूको भुमिका एवम अधिकारको बारेमा सहजीकरण हुनुपर्नेमा जोड दिदै स्थानीय स्वायत्त शासनको मुख्य अभिप्राय नै राष्ट्रिय नेतृत्व निर्माण गर्नु भएको बताए । प्रमुख प्रशासकीय अधिकृत प्रधानले कानुनको शासन, मौलिक हक तथा मानव अधिकारका मूल्य र मान्यता, लैङ्गििक समानता, समानुपातिक समावेशीकरण, सहभागिता र सामाजिक न्यायको माध्यमबाट न्यापूर्ण व्यवस्था कायम गर्दै लोककल्याणकारी राज्यको निर्माण गर्नका लागि स्थानीय नेतृत्व सबल र सक्षम हुन जरुरी रहेको औल्याउदै तालिमको सफलताको शुभकामना दिए ।
न्यायिक समिती संयोजक उपप्रमुख भरत गोपालीले न्यायका लागि मेलमिलापको माध्यम उपयुक्त भएको भन्दै यसको व्यापकता र प्रभावकारिता मेलमिलापकर्तामा निर्भर रहने बताउनुभयो । मेलमिलापबाट समाधान गरिएका विवादहरु कार्यान्वयन गर्न प्रभावकारी रहने हुनाले मेलमिलाप प्रक्रियालाई नगरपालिकाले प्राथमिकता साथ अवलम्वन गर्नुपर्ने आवश्यकता औल्याए । थाहा नगरपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत सुचिकृत मेलमिलापकर्तालाई तालिमको आयोजना गरियको न्यायीक समितीका सहजकर्ता गोपी कार्कीले बताइन् ।
तालिमका सहभागीहरुलाई अधिवक्ता प्रवीण हुमागाई, पुष्कर पराजुली, सुष्मा पौडेल, बन्धुराज पौडेल, कविता अधिकारीले न्यायिक समिति र मध्यस्थकर्ताहरूले न्याय सम्पादनमा खेल्नुपर्ने भूमिकाका बारेमा सहजीकरण गरिरहेका छन् । तालिम सुरुवात कार्यक्रममा न्यायिक समिती सदस्यहरु बम बहादुर सिनतान, कार्यपालिका सदस्य पवित्रा सिं ठकुरी, अन्जु श्रेष्ठलगायत नगरपालिका भित्रका मेलमिलाप सहजकर्ताहरुको उपस्थिति रहेको छ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार स्थानीय तहलाई सामान्य प्रकृतिका मुद्दामा फैसला गर्ने र केही विवादमा मेलमिलाप मात्र गराउन पाउने गरी दुई किसिमको क्षेत्राधिकार दिइएको छ । सामान्य प्रकृतिका पारिवारिक, समाज तथा छरछिमेकमा परिरहने किसिमका विवाद निरुपणको जिम्मा पनि स्थानीय तहको न्यायिक समितिलाई दिइएको छ ।
प्रतिक्रिया दिनुहोस्