
बागमती प्रदेश सरकारले २ वटा पर्यटन विकास आयोजना सहित कार्यालय खारेज गरेको छ । २३ वैशाखमा बसेको मन्त्रीपरिषद् बैठकले २ वटा पर्यटन विकास आयोजना र २ वटा पर्यटन कार्यालय खारेज गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने जानकारी दिए ।
मन्त्री लामिछानेको अनुसार संस्कृति तथा पर्यटन मन्त्रालयअन्तर्गतको पर्यटन विकास आयोजना हेटौंडा र पर्यटन विकास आयोजना ईकाई कार्यालय काठमाडौं खारेज गर्ने निर्णय भएको हो । त्यसैगरी बैठकले उपत्यका पर्यटन कार्यालय काठमाडौँ र पर्यटन कार्यालय चितवनलाई खारेज गर्ने निर्णय गरेको छ । अस्थायी संरचनाको रुपमा रहेका ती कार्यालय खारेज गरेको मन्त्री लामिछानेले जानकारी दिए । मन्त्रालयको संगठन संरचना तेरिज स्वीकृत गर्दै ती कार्यालय खारेज गर्ने निर्णय भएको हो । बैठकले प्रदेश राजधानी हेटौंडामा मन्त्रालय र एक कार्यालय रहने व्यवस्था गरेको छ भने अन्य ४ जिल्लामा कार्यालय राख्ने निर्णयगरेको हो ।
बैठकले हेटौंडासहित नुवाकोट, दोलखा, चितवन र काठमाडौंमा पर्यटन कार्यालय खडा गर्ने निर्णय गरेको छ । बैठकले प्रशासनका कर्मचारी प्रमुख रहनेगरी मन्त्रालय र मातहतका निकायमा साविकको ११७ जनाको दरबन्दीलाई घटाएर १०६ कायम गरेको छ । यसअघि २ वटा आयोजनामा प्राविधिकतर्फका इन्जिनियर वा वन अधिकृत प्रमुख रहने व्यवस्था थियो । बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कर्मचारी दरबन्दी तेरिज स्वीकृत गरेको छ । बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कम्प्युटर अपरेटर (सहायक पाँचौँ/अधिकृत छैटौँ)लाई प्रशासनिक कर्मचारीको रुपमा प्रयोग गर्ने गरी दरबन्दी तेरिज स्वीकृत गरेको हो ।
प्रतिक्रिया दिनुहोस्