नेपाल दलित मुक्ति मोर्चा, थाहानगर समितिले थाहा नगरपालिकालाई छुवाछुतमुक्त नगर घोषणासँगै दलित समुदायको हक, अधिकार र सशक्तिकरणका माग गर्दै २५ वैशाखमा ज्ञापनपत्र बुझाएको छ ।

थाहा नगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा नेपाल दलित मुक्ति मोर्चा थाहानगर कमिटी अध्यक्ष सुरेन नेपाली, इन्चार्ज अर्जुन सुनार, मकवानपुर जिल्ला संयोजक जमिन दियाली तथा अन्य दलित जनप्रतिनिधिहरूको उपस्थितिमा थाहानगर प्रमुख विष्णु बहादुर विष्टलाई ज्ञापनपत्र बुझाइएको हो।

ज्ञापनपत्रमा संविधानले सुनिश्चित गरेका दलित समुदायका अधिकारको प्रभावकारी कार्यान्वयन, दलित छात्रवृत्ति, भूमिहीन र आवासविहीन दलितको अधिकार सुनिश्चित, दलित सशक्तिकरण ऐन निर्माण, परम्परागत पेशाको संरक्षण र बजेट व्यवस्थापन, पालिकामा समावेशी नियुक्ति प्रक्रिया, नगरस्तरीय दलित विकास बोर्डको गठन र अन्तरजातीय विवाह गर्ने जोडीको पुनःस्थापनाको माग गरेका छन् ।

ज्ञापनपत्रमा भनिएको छ, “२०६३ सालमा नेपाल छुवाछुतमुक्त राष्ट्र घोषणा भइसके पनि व्यवहारमा छुवाछुत र जातीय भेदभाव कायमै छ। संविधानमा उल्लेखित धारा २४, ४० र ४२ मा स्पष्ट व्यवस्था भए पनि यसको कार्यान्वयनमा सरकार बेखबर देखिएको छ।” नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट नेपाल दलित मुक्ति मोर्चाले माओवादी आन्दोलनपछि दलित अधिकारका विषयमा गरिएको घोषणाको कार्यान्वयन नगरेको भन्दै वर्तमान सरकारप्रति पनि गम्भीर आपत्ति जनाएका छन्।

दलित समुदायको शिक्षा, स्वास्थ्य, आवास, पेशा, रोजगार र सामाजिक सुरक्षा सुनिश्चित गरी थाहानगरलाई नमुना छुवाछुतमुक्त नगर घोषणा गर्न मोर्चाले माग गरेको छ।

पालिका प्रेस
थप जानकारी