मकवानपुर थाहा नगरपालिकालाई ‘आरोग्य नगर’ को प्रवद्र्धनका सम्भावनाका सम्बन्धमा छलफल कायृक्रम भएको छ । थानाबजार स्थित गंगा होटलमा ४ जेठमा भएको छलफल कार्यक्रममा जनप्रतिनीधि तथा स्थानीय सरोकारवालाहरुले आ–आफ्नो धारणा राखेका थिए ।

कार्यक्रमका मुख्य वक्ता नेपाल सरकारका पूर्व मुख्य सचिव बैकुण्ठ अर्यालले थाहानगरको प्राकृतिक, सांस्कृतिक र जैविक सम्पदालाई आधार बनाई आरोग्य पर्यटनको अपार सम्भावना रहेको उल्लेख गरे । उनले नीति निर्माणदेखि कार्यक्रम कार्यान्वयनसम्म स्थानीय सरकारको नेतृत्वमा पर्यटन, स्वास्थ्य र वातावरण क्षेत्रबीचको समन्वय अत्यावश्यक रहेको बताए ।

थाहा नगरपालिकाका नगर प्रमुख बिष्णु बहादुर बिष्टले नगरपालिकाले आरोग्य पर्यटन प्रवद्र्धनका लागि नीतिगत सहयोग गर्न तत्पर रहेको जनाउँदै आवश्यक पूर्वाधार विकास, सूचना प्रवाह तथा प्रचारप्रसारमा ध्यान दिइने बताए । कार्यक्रममा सहभागी विज्ञहरूले स्वास्थ्य पर्यटनलाई व्यवस्थित बनाउनको लागि स्थानीय स्रोत साधनको समुचित प्रयोग, तालिम र जनचेतनाको आवश्यकता उल्लेख गरेका थिए ।

छलफलबाट थाहा नगरलाई ‘आरोग्य पर्यटन गन्तव्य’ को रूपमा विकास गर्न चरणबद्ध रणनीति तय गर्ने निष्कर्ष आएको छ । कार्यक्रममा अन्य वक्ताहरुले थाहानगरको प्राकृतिक सौन्दर्य, जैविक विविधता र सांस्कृतिक सम्पदालाई आरोग्य पर्यटनसँग जोडेर स्थानीय विकासको नयाँ ढोका खोल्न सकिने धारणा राखे । थाहानगरमा रहेको हरित वातावरण, जडीबुटी, चिसोपानीका स्रोतहरू तथा योग/ध्यान केन्द्रहरूलाई आधार बनाएर आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने योजनाबारे छलफल भएको थियो ।

कार्यक्रममा थाहा नगरपालिकाका नगर उपप्रमुख भरत गोपाली, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान, जनप्रतिनिधिहरु, कार्यपालिका सदस्य, बिषयगत शाखा प्रमुखहरु, पर्यटन व्यवसायी, राजनैतिक दलका प्रतिनिधी, सरोकारवाला निकाय तथा विभिन्न क्षेत्रका विज्ञहरू, जीवन बिज्ञानका राजु हुमागाइ, जीवन बिज्ञान योग प्रशिक्षक गिता रेग्मी, बलराम आचार्य, थाहा जीवन बिज्ञान प्रयोगशालाका अध्यक्ष बिमल कुमार ढकाललगायत राजनीतिकद दल, तथा संद्दस.स्थाका प्रतिनीधिहरुको सहभागिता थियो ।

पालिका प्रेस
थप जानकारी