
बागमती प्रदेश सरकारले समपूरक अनुदान वितरणका लागि स्थानीय सरकारलाई ७ वर्गमा वर्गीकरण गरेको छ । प्रदेश सरकारले २१ चैतमा जारी गरेको ‘प्रदेश समपूरक अनुदान सम्बन्धी कार्यविधि २०८१’ मा स्थानीय सरकारलाई वर्गीकरण गरेको हो । प्रदेश सरकारको वर्गीकरण अनुसार मकवानपुरको १० स्थानीय सरकार मध्ये ५ वटा सरकारको समपूरक बजेट बढ्ने छ ३ वटाको घट्ने र २ वटा स्थानीय सरकारको समपूरक बजेट साविककै रहने कार्यविधिमा उल्लेख छ ।
‘प्रदेश समपूरक अनुदान सम्बन्धी कार्यविधि २०७७’ अनुसार सबै स्थानीय सरकारले प्रदेश समपूरक अनुदानबाट सञ्चालन हुने आयोजना/कार्यक्रमका लागि ५० प्रतिशत अनुदान पाउँदै आएका थिए । स्थानीय सरकारको आन्तरिक राजस्व संकलन, समृद्धिको अवस्था, आन्तरिक राजश्व परिचालनको सूचाङ्कका आधारमा समपूरक अनुदानको अनुपातलाई नयाँ कार्यविधिमा तोकिएको छ । ‘पालिकालाई सात वर्गमा वर्गीकरण गरिएको छ, त्यसकै आधारमा २० देखि ८० प्रतिशतसम्म प्रदेशबाट समपूरक अनुदान पाउने हो’–आर्थिक मामिला तथा योजना मन्त्रालयका अधिकृत इन्द्रराज संज्यालले भने ।
नयाँ कार्यविधि अनुसार कैलाश र राक्सिराङ गाउँपालिका ‘ख’ वर्गमा परेको छ । यि दुई पालिकाले प्रदेशबाट ७० प्रतिशत समपूरक अनुदान पाउने भएका छन् । इन्द्रसरोवर, भीमफेदी र बागमती गाउँपालिका ‘ग’ वर्गमा परेका छन् । यि पालिकाहरुले प्रदेश सरकारबाट ६० प्रतिशत अनुदान पाउने भएका छन् भने बकैया र मकवानपुरगढी गाउँपालिका ‘घ’ वर्गमा परेका छन् । यि पालिकाले साविककै झै ५० प्रतिशत समपूरक अनुदान प्रदेश सरकारबाट पाउनेछन् ।
त्यस्तै नयाँ कार्यविधि अनुसार मनहरी गाउँपालिका र थाहा नगरपालिका ‘ङ’ वर्गमा परेका छन् । यि दुई पालिकाले प्रदेश सरकारबाट ४० प्रतिशत मात्र अनुदान पाउने भएका छन् । हेटौंडा उपमहानगरपालिका भने ‘छ’ वर्गमा वर्गीकृत भएको छ । हेटौंडाले प्रदेश सरकारबाट स्वीकृत समपूरक अनुदानबाट सञ्चालन हुने आयोजनाको लागि २० प्रतिशत मात्र अनुदान पाउने कार्यविधिमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्