थाहा नगरपालिकामा क्रियाशिल मेलमिलापकर्तालाई कानूनी शिक्षा सचेतना सहित ३ दिने कानुनी शिक्षा अभिमूखीकरण कार्यक्रम भएको छ । स्थानीय तहमा आउने विवादलाई वडा र समुदाय स्तरमै समाधान गर्ने, मेलमिलाप गर्ने लक्ष्यले वडा तहमा सामुदायिक मेलमिलाप केन्द्र स्थापना गरिएको छ ।विशेषगरी तालिममा मेलमिलापकर्ताको भूमिका र विवाद व्यवस्थापन सम्बन्धी जानकारी गराइएको थियो ।

मेलमिलाप कर्ता र न्यायिक समितिका पदाधिकारी र सदस्यलाई विवाद, विवादको स्वरुप, कारण, चरण, सामुदायिक अन्तरनिर्भरता, प्रचलित उपायहरु, मेलमिलापको ऐतिहासिक विकासक्रम, विवाद समाधानका रणनितिहरु, मेलमिलापकर्ताको भूमिका र दायित्व, मान्यता, हितअडान सम्वन्धी जानकारी,मेलमिलाप प्रक्रियाको जानकारी, आशय प्रभाव तथा निष्कर्ष तहको जानकारी, मेलमिलाप पूर्व पश्चातको जानकारी, मेलमिलाकर्तामा हुनुपर्ने गुणहरु, मेलमिलापका लागि चाहिने थप सीपको वारेमा प्रशिक्षण गरिएको न्यायिक समिती सहजकर्ता गोपी कार्कीले जानकारी दिइन् ।

३ दिने तालिम समापन कार्यक्रममा नगरपालिका प्रमुख बिष्णु बहादुर बिष्टले स्थानीय सरकारलाई सफल बनाउन मेलमिलापकर्ताको भूमिका महत्वपूर्ण भएको बताए । वडा र समुदाय तहमा मेलमिलापबाट विवादको टुंगो लगाउन सकियो भने नगरपालिका तहमा कार्यबोझ कम हुने र पालिकाको गरिमा उचो हुने उनको भनाई थियो । थाहा नगरपालिका न्यायिक समिती संयोजक भरत गोपालीले न्याय सम्पादन गर्दा कसैले पनि राजनैतिक पुवाग्राही राखेर न्याय सम्पादन गर्न नुहने बताए । उनले समुदायमा मेलमिलाप कर्ताको महत्वपुर्ण भुमिका रहने भन्दै न्यायले पीडितलाई झन पीडा र पिडकलाई उत्साही हुने खालको न्याय सम्पादन गर्न नहुने बताए ।

तालिममा सहभागीहरुले समुदायमा भएको विवादहरुलाई मेलमिलाप गराउदा अपनाउनुपर्ने ज्ञान सिप प्राप्त भएको र त्यस्ता विवाद समाधान गर्न थप जानकारी मिलेको बताए । सहभागीहरुले वडामा देखिएका समस्या अब नगरपालिका नआएर वडामै बिवाद मिलाउन आफुहरु लाग्ने बताए। तालिममा प्रशिक्षकहरु अधिवक्ता हरु प्रवीण हुमागाइ पुष्कर पराजुली, सुष्मा पौडेल, बन्धुराज पौडेल, कविता अधिकारीले न्यायिक समिति र मध्यस्थकर्ताहरूले न्याय सम्पादनमा खेल्नुपर्ने भूमिकाका बारेमा सहजीकरण गरेका थिए।
कार्यक्रममा थाहाका १२ वटै वडाका मेलमिलापकर्ता हरुको सहभागिता रहेको थियो।

पालिका प्रेस
थप जानकारी