मकवानपुर थाहा नगरपालिका वडा नम्बर ४ शिखरकोटमा रहेको स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले इलाका प्रहरी कार्यालय पालुङलाई २० थान कुर्सी र दुई थान वाटर डिस्पेन्सर सहयोग गरेको छ। थाना बजारको गंगा होटलमा भएको एक कार्यक्रमका बिच थाहा नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर विष्टष्टले इलाका प्रहरी कार्यालय पालुङका प्रमुख सविन बाबु अर्याललाई उक्त सामाग्री हस्तान्तरण गरेका हुन।
स्वावलम्बन लघुवित्तले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त सामाग्री सहयोग गरेको शाखा प्रवन्धक रामनाथ खड्काले बताए । कार्यक्रममा बोल्दै थाहानगर प्रमुख बिष्टले वित्तीय संस्थाले ग्राहक तथा ग्राहक परिवारको हकहितलाई मध्यनजर राख्दै विभिन्न वित्तीय सेवा लगायत सामुदायिक क्रियाकलापमा संलग्न रहि घरदैलोमा लघुवित्त सेवा पुर्याउनु पर्नेमा जोड दिए । ग्राहकको वित्तीय सचेतना कार्यक्रम अन्तरगत संस्थाले विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम संचालन समेतमा जोड दिई संस्थाबाट लगेको ऋण सहि सदुपयोग भए नभएको अनुगमन गर्नुपर्ने उनको भनाइ थियो ।

सो अवसरमा इलाका प्रहरी कार्यालय पालुङका प्रमुख सविन बाबु अर्यालले शान्ती सुरक्षा कायम गर्न बसेका सुरक्षा निकायलाई यस्ता खालको सहयोगले थप जिम्मेवारी बोध गराएको बताउदै सहयोगको निम्ति संस्थालाई धन्यवाद व्यक्त गरे। संस्थाका समूह अध्यक्ष रुपा खत्रीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा थाहा नगरपालिका वडा नम्बर १ का कार्यवाहक अध्यक्ष सरोज प्रधान, वडा नम्बर ४ का अध्यक्ष नारायण लामा, थाहानगर उद्योग वाणिज्य संघका अध्यक्ष पुरुषोत्तम ढकाल, पालुङ जेसीजका अध्यक्ष निरज रायमाझी, संस्थाका केन्द्रिय कार्यालयका प्रतिनिधि सन्तबहादुर सुयाल, लायन्स क्लव थाहाका अध्यक्ष सतिदेवी स्याङ्तान लगायतकाले शुभकामना दिएका थिए ।
स्वावलम्बन लघुवित्तले विगत २९ वर्षदेखि यस क्षेत्रमा लघुकर्जाको सहायताले गरिबी निवारण र महिलाहरुलाई उद्यमशीलता बनाइ आम्दानीको कार्यमा सम्मिलित गर्नुको साथै विप्रेषणको कार्य गर्दै आइरहेको छ ।



















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्