मकवानपुरको पश्चिमी क्षेत्र मनहरीमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले २५६ मिटर लामो मोटरेवल पुल शिलान्यास गरेका छन् । मनहरी गाउँपालिका–९ र ५ जोड्ने रजैया–दरदरा मोटरेवल पुलको सोमबार शिलान्यास गरिएको हो ।

पुल निर्माणका लागि प्रदेश सकारले बजेट विनियोजन गरेपनि डीपीआर, निकुञ्ज क्षेत्रमा परेकोलगायतका समस्याका कारण काम अघि बढ्न सकेको थिएन । प्रदेश सरकार गठन भएलगत्तै निर्माणको योजना अघि बढाएर पनि लामो समयदेखि बन्न नसकेको यो पुल अब बन्ने निश्चित भएको हो । मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकारले विकास निर्माणका कामलाई उत्पादनसँग जोड्ने रणनीति अनुसार काम गरिरहेको बताए । विकास निर्माणका कामलाई उत्पादनमुखी ढंगबाट अघि बढाएर आर्थिक समृद्धिमा अग्रसर हुने सरकारको लक्ष्य रहको उनले सुनाए । कृषि, पर्यटन तथा उद्यमशीलतामा भूमिका खेल्ने गरी विकास निर्माणका काम अघि बढाउने प्रदेश सरकारको योजना रहेको उनको दाबी छ ।

प्रदेश सरकारका तर्फबाट पुल निर्माणका लागि बजेट सुनिश्चितता भएको गाँउपालिका अध्यक्ष रञ्जन कालाखेतीले जानकारी दिए । नागरिकको गुनासो र दवाव तथा सरोकारवालाको पहलका बीच प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०/८१ बजेटमा पुल निर्माणका लागि बजेट विनियोजन गरिएको उनले बताए । पूर्वाधार विकास कार्यालय चितवनमार्फत् कार्यान्वयन गरिएको यो पुल निर्माण योजनाका लागि २४ करोड ७ लाख ९१ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको छ ।

बिटी/आरएस जेभी निर्माण कम्पनीले ३ वर्ष भित्र पुल निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको पूर्वाधार विकास कार्यालय चित्तवनका प्रमुख वीरेन्द्र चौधरीले जनाएका छन् । शिलान्यास कार्यक्रममा बागमतीका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलाल, सामाजिक विकासमन्त्री कुमारी मोक्तान, पूर्वस्वास्थ्य मन्त्री विरोध खतिवडा, प्रदेश सासंद एकालाल श्रेष्ठ, संविधानसभा सदस्य राजाराम स्याङ्तान, मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामीमगर, गाउँपालिका निवर्तमान अध्यक्ष एकराज उप्रेती, पुल सरोकार समितिका अध्यक्ष रामप्रसाद कालाखेतीलगायतको आतिथ्यता थियो ।

पालिका प्रेस
थप जानकारी