मकवानपुर थाहा नगरपालिका वडा नम्बर ४ मा रहेको पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष सरोजकुमार खनाल र सचिव गुणराज घिमिरेलाई सम्मान गरेको छ । पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको हेटौँडा शाखाका संयोजक समेत रहेका खनाललाई सम्मान गरिएको हो ।

सहकारी संस्थाको प्रधान कार्यालय थाहा नगरपालिका–४, थानाबजारमा आयोजित कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो। सोही अवसरमा शिखर क्लब तथा शिखरकोट बजार व्यवस्थापन समितिले समेत नवनिर्वाचित पदाधिकारीहरूलाई सम्मान गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।

 

सहकारीका अध्यक्ष कृष्णबहादुर बिष्ट को अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका पूर्वअध्यक्ष बिमलकुमार ढकाल सहित विभिन्न सामाजिक तथा व्यावसायिक क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा सानोभाइ कार्की, अरुण रायमाझी लगायतले अध्यक्ष खनाललाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।

सम्मान ग्रहणपछि नवनिर्वाचित अध्यक्ष सरोजकुमार खनालले वर्तमान समयमा व्यवसायीहरू विभिन्न चुनौतीसँग जुधिरहेको उल्लेख गर्दै सरकारले व्यवसायीलाई अनावश्यक रूपमा त्रसित बनाउने वातावरण सिर्जना गरेको र यातायात क्षेत्र आफैं व्यवस्थित हुन नसकेको अवस्थामा आफूले इमान्दारीपूर्वक व्यवसायीको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

अध्यक्ष खनालले व्यवसायीको व्यवस्थापन प्रणाली, दुर्घटना व्यवस्थापन तथा समयअनुकूल नीतिगत सुधारका लागि सक्रिय पहल गर्ने बताए । संशोधनको चरणमा रहेको यातायात व्यवसायी ऐन, २०४९ मा दुर्घटनापछि चालकलाई गरिने कारबाही, ट्राफिक जरिवाना लगायतका विषय व्यवसायीका लागि चुनौतीपूर्ण रहेकाले व्यवसायीको अधिकार र हितको पक्षमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे ।

पालिका प्रेस
थप जानकारी