थाहा नगरपालिका वडा नम्बर ११ मा निर्माण सम्पन्न भएको तल्लो चित्रे मालागिरी खानेपानी आयोजनाको उद्घाटन गरिएको छ । च्वाइस नेपालको सहयोगमा निर्माण भएको आयोजनामा थाहा नगरपालिका र समुदायले समेत लगानी गरेका छन् । ७६ घरमा ‘एक घर, एक धारा’ निर्माण गरिएको परियोजनाको थाहा नगरपालिकाका नगर उपप्रमुख भरत गोपाली र च्वाइस नेपालका कन्ट्री डाइरेक्टर प्रतीक शर्माले एक समारोहकाबीच उद्घाटन गरेका छन् ।
खानेपानीका लागि लामो समयदेखि दुःख व्यहोर्दै आएका तल्लो चित्रे तथा मालागिरीका स्थानीयहरुका लागि खानेपानी आयोजना सम्पन्न गरिएको बताउँदै योजनाको दिगो व्यवस्थापनमा ध्यान दिनका लागि नगर उपप्रमुख भरत गोपालीले आग्रह गरे । ‘हामी इन्टरनेटका लागि मासिक पन्ध्र सयसम्म खर्च गर्न तयार हुन्छौं, तर आफ्नो स्वस्थ्यका लागि आवश्यक खानेपानीका लागि सय÷डेढसय खर्च गर्न हिचकिचाउँछौं, यो बानी सुधार गर्नुपर्छ’–उपप्रमुख गोपालीले भने–‘योजनाको दिगोपना र एकीकृत सेवा प्रवाहका लागि खानेपानी बोर्डमा आवद्ध हुनूस ।’ उनले योजना सम्पन्न गर्नका लागि सहयोग गर्ने च्वाइस नेपालप्रति आभार व्यक्त गर्दै कार्यक्रमको अवसरमा धन्यवाद दिए ।

च्वाइस नेपालका कन्ट्री डाइरेक्टर प्रतीक शर्माले स्थानीय सरकारको आवश्यकतामा आधारित भएर काम गर्ने संस्थाको ‘मोड्युल’ भएकोले सोही बमोजिम योजना सम्पन्न गर्नका लागि सफल भएको बताए । शर्माले ११ नम्बर वडाध्यक्ष दिनेश बलप्रति इङ्कित गर्दै भने–‘उहाँ वडाध्यक्ष नभएको भए हामी यहाँ हुन्थेनम् उहाँले यहा खानेपानीको आवश्यकता औल्याउनूभयो, नगरपालिकासँग सहकार्य भयो, उपभोक्ताले श्रमदान गर्नुभयो आज घरघरमा पानी आयो ।’ करिब ३४ लाखमा सम्पन्न योजनामा थाहा नगरपालिकाले ५ लाख वित्तीय सहकार्य गरेको छ । खानेपानी योजना उद्घाटनको अवसरमा उपभोक्ताले गरेको श्रमदानको स्मरण गराउँदै शर्माले भने–‘तपाइहरुको हातको ठेला अझै ताजै होला, अब त घर छेवैको धारामा पानी आयो ।’
बस्तीदेखि तलको परम्परागत पँधेराबाट पानी बोक्नुपर्ने समस्याको अन्त्य भएकोमा स्थानीयहरुले खुशी व्यक्त गरे । तल्लो चित्रे मालागिरी खानेपानी योजना निर्माण समितिकी अध्यक्ष सोममायाँ स्याङ्तानले योजनाका लागि सहयोग गर्ने च्वाइस नेपाल, नगरपालिका तथा वडा कार्यालयलाई धन्यवाद दिइन् । घर भान्साको काम अहिले पनि महिलाकै जिम्मेवारी सरह भएको बताउँदै अध्यक्ष स्याङ्तानले भनिन्–‘अब महिलाहरुले डोको र बोत्तलमा पानी बोक्ने दिन गए, खुशीको दिन फिरे ।’ उक्त योजना निर्माणका लागि अधिकांश महिलाहरु नै समितिमा बसेर काम गरेका थिए ।

समितिकी अध्यक्ष सोममायाँ स्याङ्तानको सभाध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा थाहा नगरपालिका सामाजिक विकास समितिका संयोजक तथा ११ नम्बर वडाध्यक्ष दिनेश बल, थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्डका प्रशासकीय अधिकृत सुरज भुजेल, थाहा नगरपालिकाका सव–इन्जिनियर सिताराम ढकाल, च्वाइस नेपालका प्रताप घिमिरे, सुवास मरहट्टा, वडा सदस्यहरु, निर्माण समितिका पदाअधिकारीहरु, स्थानीयहरुको उपस्थिती रहेको थियो ।

















































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्