मकवानपुर जिल्ला अदालतले दुई वर्ष नाघेका पुराना मुद्दाहरूलाई पूर्ण रूपमा फछ्र्यौट गरी शून्यमा झारेको छ । अदालतले गत आर्थिक वर्ष २०८२÷०८३ को प्रगति विवरण सार्वजनिक गर्दै वर्षौँदेखि पेन्डिङ रहेका पुराना मुद्दा फछ्र्यौटमा ऐतिहासिक सफलता मिलेको जनाएको हो।

अदालतका अनुसार गत आवमा कुल ३ हजार ६३६ मुद्दाको लगत रहेकोमा २ हजार ३१४ वटा (६३.६४ प्रतिशत) फछ्र्यौट भएका छन्। ८७.५५ प्रतिशत वार्षिक लक्ष्य हासिल गरेको अदालतमा अब बाँकी १ हजार ३२२ मुद्दामध्ये कुनै पनि दुई वर्ष नाघेका छैनन्। अदालतकी जिल्ला न्यायाधीश गीता श्रेष्ठले रणनीतिक योजना र निरन्तर सुनुवाइकै कारण पुराना मुद्दा शून्यमा ल्याउन सकिएको बताइन् । “सर्वसाधारणको अदालतप्रतिको विश्वास बढाउन ढिलासुस्ती अन्त्य गर्नु अनिवार्य थियो। रणनीतिक योजनाको प्रभावकारी कार्यान्वयनले यो सफलता मिलेको हो,” न्यायाधीश श्रेष्ठले भनिन् ।

दर्ता भएका नयाँ मुद्दामध्ये सबैभन्दा बढी सम्बन्ध विच्छेदका ८७५ वटा रहेका छन्। यस्तै अंश दर्ताका ३०४, लागू औषधका २३९, लेनदेनका १९२ र बैंकिङ कसूरका ११९ मुद्दा दर्ता भएका छन्। अदालतमा दर्ता भएका मुद्धाहरुलाई छिटो भन्दा छिटो फच्यौट गर्नका लागि आफुहरु लागिपरेको अदालतका सूचना अधिकारी केशबराज कौशिकले बताए । फैसला कार्यान्वयनतर्फ कुल ४८ करोड ५८ लाख रुपैयाँ जरिवाना लगतमध्ये ८५.०७ प्रतिशत अर्थात् ४१ करोड ३३ लाख रुपैयाँभन्दा बढी असुली भएको छ। कैदतर्फ १ हजार ५७१ वर्ष सजाय फछ्र्यौट भएको छ।

अदालतले ५ हजार २५० मिसिल स्क्यान (डिजिटलाइजेशन) गरिसकेको छ भने पीडितलाई २२ लाख ४५ हजार रुपैयाँभन्दा बढी क्षतिपूर्ति भराएको छ। त्यसै गरि २४ हजार ५ सय ८४ मिसिल स्क्यान गर्न बाकी रहेको छ ।

पालिका प्रेस
थप जानकारी