मकवानपुरको प्रशिद्ध तीर्थस्थल त्रिवेणी शंङ्खमूलमा निर्माण भएको एकसय आठ शंखधारा उद्घाटन हुने भएको छ । थाहा नगरपालिका वडा नम्बर ३ मा रहेको उक्त धाराको ११ साउनमा विशेष कार्यक्रमसहित उद्घाटन गर्न लागिएको हो । त्रिवेणी शंखमूलमा १०८ शंखधारा सहितको धार्मिक संरचना बनाउनका लागि मोक्षधाम शंखमूल नेपाल नामक संस्थाले सहजीकरण तथा व्यवस्थापन गर्दै आएको छ ।

तस्वीर सौजन्य: निरोज प्रधान

धारा उद्घाटनको अवसरमा थाहानगरको शिखरकोटबाट पैदलयात्रा कार्यक्रम राखिएको छ । ‘आरोग्य पैदलयात्रा’ नाम दिइएको उक्त यात्रा शिखरकोटहुँदै शंखमूलसम्म पुग्ने संस्थाका अध्यक्ष गुप्त बहादुर कार्कीले जानकारी दिए । शंखमूलमा निर्माण भएको धारा स्थानीयले स्वतःस्फूर्त रुपमा दान गरेका हुन् । धारा निर्माणका लागि मोक्षधाम शंखमूल नेपाल संस्थाले प्रति धाराको दर तोकेर रकम संकलन गरेको थियो । अध्यक्ष कार्कीले भने–‘प्रत्येक धारामा स्थानीयको लगानी छ, संस्थाले त सहजकिरण मात्र गरेका हौ ।’ शंखधाराका लागि धेरैले सहयोग गर्ने इच्छा राखेकाको भएपनि धारा १०८ मात्र शंखधारा बनाउने योजना भएकाले सबैको सहयोग लिन नसकिएको अध्यक्ष कार्कीले बताए ।

शंखधाराको उद्घाटनका अवसरमा धाराका लागि सहयोग गर्ने सबै दातालाई सम्मान गर्ने कार्यक्रम पनि रहेको छ । सो अवसरमा शंखमूलमा भजनकीतृन, गंगा आरतीसहित प्रसाद वितरणसम्मको कार्यक्रम रहेको संस्थाका सचिव अनिल लामिछानेले जानकारी दिए । कार्यक्रमको अवसरमा एमआरआर भजन समूहको भजनको कार्यक्रम, धार्मिक प्रवचनसमेत हुने सचिव लामिछानेले बताए ।

तस्वीर सौजन्य: रोशन गोपाली

हिमवतखण्ड (नेपाल महात्म्य) मा वर्णित पालुङको शंखमूल अत्यन्तै महत्वपूर्ण धार्मिक शक्तिपीठका रूपमा उल्लेख गरिएको छ । थाहा नगरपालिका–३ स्थित त्रिवेणी शंखमूललाई स्थानीय धार्मिक परम्परा, गुरु–पुरोहित तथा उपलब्ध ग्रन्थीय सन्दर्भले अत्यन्तै पवित्र तीर्थस्थलका रूपमा व्याख्या गरेका गरिएको छ । विशेष गरी यसलाई पशुपति क्षेत्रको शंखमूल तथा भारतको काशीसँग समान आध्यात्मिक महत्व भएको स्थल मानिन्छ ।

धार्मिक शास्त्रअनुसार विश्वको तीन शङ्खमूल मध्ये ऋषेश्वरबाट उत्तर बगेको नारायणी नदी र पश्चिम त्रिवेणीघाटबाट पूर्व बगेको संगमस्थल नै विश्वको एक शङ्खमूल गंगा भएको जनविश्वास छ । धार्मिक दस्तावेजहरुको आधारमा थाहा नगरपालिका (साविकको पालुङ गाउँ)को ३ नम्बर वडाको घट्टेचौरमा अवस्थित त्रिवेणी शङ्खमूल विश्वकै पवित्र स्थल रहेको दाबी गरिएको छ । यसको पौराणिक महत्वलाई संरक्षण र प्रवर्द्धन गर्दै शङ्खमूललाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य थाहा नगरपालिकाको छ ।

पालिका प्रेस
थप जानकारी