मकवानपुर थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान गरेको छ । शिखरकोटस्थित विकास घरमा आयोजित सम्मान कार्यक्रम थाहा नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर विष्टको प्रमुख आतिथ्यतामा भएको थियो । कर्यक्रममा वडा नम्बर ४ का अध्यक्ष नारायण लामा, वडा नम्बर ३ का अध्यक्ष हिरेन्द्रकुमार रायमाझी, फरक सोचका संयोजक यादव रायमाझीलगायत विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

तामाङ समुदायको अन्तिम दाहसंस्कार गर्ने महत्वपूर्ण स्थलका रूपमा निर्माण गरिएको घट्टेखोला मरिनघाट निर्माणमा श्रमदान, आर्थिक तथा नैतिक सहयोग गर्ने महानुभावहरूलाई सम्मान पत्र प्रदान गरिएको थियो। सिमित बजेट र स्रोतसाधनका बाबजुद स्थानीय समुदायको सक्रिय सहभागिता, श्रमदान र सहयोगबाट धार्मिक तथा सामाजिक महत्व बोकेको मरिनघाट निर्माण सम्पन्न गरिएको भन्दै कार्यक्रममा सहभागी वक्ताहरूले श्रमदान संस्कृतिको प्रशंसा गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख विष्णु बहादुर विष्टले विकास निर्माणमा केवल बजेटको मात्र भर पर्नुभन्दा समुदायको अपनत्व र श्रमदानको भावना महत्वपूर्ण हुने बताए । प्रमुख विष्टले भने–‘श्रमदान भनेको केवल काममा सहयोग गर्नु मात्र होइन, आफ्नो ठाउँ र समाजप्रतिको जिम्मेवारी देखाउने संस्कार हो। समुदाय एकजुट भएर अघि बढेमा सीमित स्रोतबाट पनि ठूला र उदाहरणीय काम सम्पन्न गर्न सकिन्छ।’

नगर प्रमुख विष्टले स्थानीय आवश्यकता र जनसहभागितामा आधारित विकासले दिगो परिणाम दिने उल्लेख गर्दै श्रमदान संस्कृतिलाई अझ प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए । घट्टेखोला मरिनघाट निर्माण समितिका अध्यक्ष सुजन लामाको अध्यक्षतामा भएको सम्मान कार्यक्रमले समाजमा योगदान दिने जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दाताप्रति सम्मान व्यक्त गर्नुका साथै समुदायमा सहकार्य र सेवाभावको सन्देश दिएको निर्माण समितिका अध्यक्ष सुजन लामाले जानकारी दिए ।

पालिका प्रेस
थप जानकारी