चितवनको इच्छाकामना गाउँपालिकाले पालिका भित्रको फोहोर संकलन गर्दा पालिकावासीबाट शुल्क नलिने घोषणा गरेको छ । गाउँपालिकाले पालिका क्षेत्रका शहरी तथा ग्रामिण भेगमा जम्मा हुने फोहोरमैला संकलनको शुल्क आगामी आर्थिक वर्षबाट नलिने घोषणा गरेको हो ।
पालिकाले चालु आर्थिक वर्षसम्म फोहोरमैंला व्यवस्थापन शुल्क उठाउँदै आएको भए पनि अब नागरिकलाई सुविधा दिन फोहोरमैलाको शुल्क नलिने निर्णय गरिएको पालिका अध्यक्ष दानबहादुर गुरुङले जानकारी दिए । फोहोरको स्रोतमा नै वर्गीकरण गरी व्यवस्थापनलाई आयमूलक र नतिजामुखी बनाइने उनले बताए ।
आइतबार सार्वजनिक नीति तथा कार्यक्रममा ‘हाम्रो गाउँ उज्यालो ठाउँ’ भन्ने अवधारणा अनुरुप ग्रामिण तथा दुर्गम क्षेत्रमा भरपर्दो विद्युत सेवा उपलब्ध गराउनुका साथै मुख्य मुख्य बजार क्षेत्र मुग्लिन, कुरिनटार लगायतमा सडक बत्ती तथा मास लाइटको व्यवस्था गर्ने उल्लेख छ ।
भूमिहीन, दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुको लागि जग्गा उपलब्ध गराउन जग्गाको नापजाँच भैरहेकाले आवश्यक सम्पूर्ण प्रकृया पुरा गरेर जग्गा धनी लालपूर्जा वितरण आगामी आर्थिक वर्षमा गर्ने पालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ ।
पालिकाका ७ वटै वडामा विशेष महत्वका सडकलाई ढलान तथा कालोपत्रे गर्ने, वडा कार्यालय तथा मुख्य बस्ती जोड्ने सडकलाई १२ महिना नै सञ्चालन हुने अवस्था तयार गर्ने कार्यलाई पालिकाले नीति तथा कार्यक्रममा समेटेको छ ।
पालिका प्रमुख पर्यटकीय तथा प्रमुख बजार क्षेत्रहरुमा पर्यटकीय संरचना निर्माण गरी सौन्दर्यकरणसहित पर्यटन प्रवर्द्धनका कार्यक्रम गरिने पालिका अध्यक्ष गुरुङले बताए ।
पृथ्वी राजमार्गको दायाँ–बायाँ मुग्लिन, वेवाटार, कुरिनटार, चुम्लिङटार, फिस्लिङ लगायतका क्षेत्रका सडकको सौन्दर्यकरणको थालनी आगामी आर्थिक वर्ष भित्र गर्ने पालिकाले जनाएको छ ।
किसानहरुका उत्पादनलाई बजारसम्म लैजान कृषि एम्बुलेन्स सञ्चालन कार्यलाई अझै व्यवस्थित बनाउने, उत्पादनका आधारमा अनुदान दिने, एक वडा एक कृषि उत्पादनलाई जोड दिने कार्यक्रमलाई पालिकाले नीति तथा कार्यक्रममा समेटेको छ ।
पालिकाले ल्यायो ७८ करोड १५ लाखको बजेट
इच्छाकामना गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८२/०८३ का लागि ७८ करोड १५ लाख ३६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
पालिका उपाध्यक्ष माया सिलवालले बजेट पेश गर्दै संघीय सरकारबाट ४६ करोड ६३ लाख, बागमती प्रदेश सरकारबाट ६ करोड ९८ लाख ५७ हजार, संघीय राजश्व बाँडफाँटबाट ९ करोड ८६ लाख, बागमती प्रदेशको राजश्व बाँडफाँटबाट ४ करोड ३५ लाख र आन्तरिक राजश्व १० करोड ३२ लाख बजेटको अनुमान गरेकी छिन् ।
पालिकाले चालु तर्फ ४३ करोड ६२ लाख ३६ हजार र पूँजीगततर्फ ३४ करोड ५३ लाख बजेट विनियोजन गरेको छ ।
पालिकाको कुल बजेटको चालु खर्च ५५.८२ प्रतिशत र पुँजीगत ४४.१८ प्रतिशत रहने जनाएको छ । आर्थिक बर्ष २०८१/०८२ को भुक्तानी बाँकी दिन ७० लाख बजेट छुट्टाइएको छ ।
पालिकाले आर्थिक विकासमा ६ करोड ४० लाख ८५ हजार, सामाजिक विकासमा ३५ करोड १६ लाख, पूर्वाधार विकासमा २५ करोड ७९ लाख, वन, वातावरण तथा विपद व्यवस्थापनमा १ करोड ५६ लाख, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा ९ करोड २२ लाख, कृषि क्षेत्रको विकासका लागि ८३ लाख, शिक्षा क्षेत्रको लागि २३ करोड १२ लाख बजेट विनियोजन गरेको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले विपन्न नागरिकको स्वास्थ्य बीमा पालिकाले विगतदेखि नै निःशुल्क गर्दै आएकाले आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिएको बताए ।
















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्