निर्वाचन आयोगले यही मंसीर १६ गते उपनिर्वाचन हुने स्थानीय तहमा सहज वातावरण बनाउने भएको छ । आयोगले उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी रूपमा सम्पन्न गर्न/गराउन उपनिर्वाचन हुने स्थानीय तहमा मतदान स्थल उपयोग गर्ने, सार्वजनिक बिदा दिने र मतदाताका लागि मतदान गर्न सहज वातावरण बनाउने भएको छ ।
मतदान हुने दिन स्थानीय तहको प्रमुख वा उपप्रमुख वा अध्यक्ष वा उपाध्यक्ष पदका लागि उपनिर्वाचन हुने स्थानीय तहमा सम्बन्धित स्थानीय तहभर र वडाध्यक्षको उपनिर्वाचन हुने स्थानीय तहमा वडाको क्षेत्रभित्र सम्बन्धित स्थानीय तहअन्तर्गतका कार्यालयमा सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन नेपाल सरकार, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई लेखी पठाउने आयोगले निर्णय गरेको उनले बताइन्।
उपनिर्वाचन हुने स्थानीय तहका मतदातालाई बिदाको सुविधा वा अन्य उपयुक्त वैकल्पिक उपाय अपनाई मतदान गर्ने सहज व्यवस्था मिलाई दिन सम्बन्धित स्थानीय तह वा जिल्लास्थित निजी क्षेत्रबाट सञ्चालित औद्योगिक वा शैक्षिक वा अन्य प्रतिष्ठानलाई आह्वान गर्ने आयोगले निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्