अविरल वर्षाका कारण मकवानपुर हुँदै काठमाडौं जोड्ने अधिकांश सडकखण्डमा पहिरो, सडक भासिने तथा विद्युतका पोल ढल्ने समस्या देखिएपछि यातायात प्रभावित भएको छ। पछिल्लो विवरणअनुसार त्रिभुवन राजपथ भने सञ्चालनमा रहेको छ।

जिल्ला सुरक्षा निकायबाट प्राप्त विवरणअनुसार विभिन्न सडकखण्डको अवस्था यस्तो रहेको छ।

कान्ति राजपथ

कान्ति राजपथको मकवानपुरतर्फको सडकखण्ड क्लियर रहेको छ। तर, ललितपुरको बागमती गाउँपालिका–३ स्थित पाँचधुरे र टाँकुरेमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। त्यसका कारण उक्त मार्ग हुँदै काठमाडौं जाने यातायात प्रभावित भएको छ।

हेटौंडा–भीमफेदी–फाखेल–काठमाडौं सडक

इन्द्रसरोवर गाउँपालिका–२ स्थित किटनीमा वर्षाका कारण सडक भासिएको छ। सडक एकतर्फी सञ्चालन गर्न सकिने अवस्था भए पनि जोखिम उच्च रहेकाले आवागमनमा थप समस्या हुन सक्ने जनाइएको छ।

यस मार्ग प्रयोग गर्ने चालकलाई सिस्नेरी वा खानीखेत हुँदै जाने वैकल्पिक मार्ग प्रयोग गर्न जानकारी गराइएको छ।

हेटौंडा–भीमफेदी–सिस्नेरी–काठमाडौं सडक

यस सडकखण्डअन्तर्गत भीमफेदी गाउँपालिका–२ ज्यालटार, भीमफेदी–६ जुरीखेत र इन्द्रसरोवर गाउँपालिका–३ धाराखोल्सामा अविरल वर्षाका कारण सडक माथिबाट लेदोसहितको पहिरो खसेको छ।

पहिरोका कारण तीनवटै स्थानमा सडक दुईतर्फी रूपमा पूर्ण अवरुद्ध भएको छ। अवरुद्ध सडक खुलाउन तीनवटै स्थानमा जेसीबी परिचालन गरी पहिरो हटाउने काम सुरु गरिएको छ।

धरान–चतरा सडक

हेटौंडा उपमहानगरपालिका–१६ स्थित हटिया बजारदेखि चिसापानीसम्म करिब १० वटा विद्युतका पोल ढलेपछि सडक पूर्णरूपमा अवरुद्ध भएको छ। सडक खुलाउन सम्बन्धित विद्युत निकायसँग समन्वय भइरहेको जनाइएको छ।

पूर्व–पश्चिम राजमार्ग

पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानी, रजैया नजिकै सडक माथिबाट पहिरो र ढुंगा खसेपछि सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ।

पहिरो हटाउन जेसीबी परिचालन गरिएको र काम जारी रहेको जनाइएको छ।

त्रिभुवन राजपथ सञ्चालनमा

अन्य प्रमुख सडकखण्डमा अवरोध रहे पनि त्रिभुवन राजपथ भने हाल सुचारु रहेको छ। काठमाडौं आवतजावत गर्ने यात्रु तथा चालकका लागि हाल यो मार्ग सञ्चालनमा रहेको सुरक्षा निकायले जनाएको छ।

इन्द्रसरोवर ड्याममा पानीको बहाव

इन्द्रसरोवर ताल (ड्याम) मा बिहान ६ः३० बजेसम्म पानीको बहाव १,५२५.१५ क्युसेक रहेको विवरण प्राप्त भएको छ। लगातार वर्षा भइरहेकाले ताल तथा आसपासका क्षेत्रको अवस्थालाई समेत निगरानीमा राखिएको छ।

पृथ्वी राजमार्गमा आवागमन रोक

यसैबीच पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर नजिकै तथा ज्यामिरे क्षेत्रमा पहिरो खसेपछि सडक दुईतर्फी रूपमा अवरुद्ध भएको छ।

जिल्ला प्रशासन कार्यालय चितवन र जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गर्दै अर्को सूचना नभएसम्म पृथ्वी राजमार्गमा सवारीसाधन सञ्चालनमा पूर्ण रोक लगाइएको जानकारी प्राप्त भएको छ।

पालिका प्रेस
थप जानकारी