हेटौंडा बजारक्षेत्रमा बढ्दै गएको सवारी चाप र अव्यवस्थित पार्किङको समस्या घटाउन चौकीटोलस्थित रोपवे चौरलाई पुनः सुमो पार्कका रुपमा प्रयोग गर्ने तयारी गरिएको छ । मुख्य बजारक्षेत्रका विभिन्न स्थानमा छरिएर सञ्चालन भइरहेका सुमो काउन्टर तथा सवारी साधनलाई एउटै स्थानमा व्यवस्थापन गर्ने गरी जिल्ला प्रशासन कार्यालय र हेटौंडा उपमहानगरपालिकाले प्रक्रिया अघि बढाएका हुन् । चाडपर्वको समयमा हेटौंडा हुँदै काठमाडौँ तथा मकवानपुरको उत्तरीक्षेत्रतर्फ आवतजावत गर्ने सवारीसाधनको चाप बढ्ने भएकाले त्यसअघि नै रोपवे चौरलाई सञ्चालनमा ल्याउने तयारी गरिएको हो ।

आगामी सोमबारदेखि नै चौर सम्याएर सुमो पार्किङ तथा काउन्टर सञ्चालन गर्ने तयारी छ । रोपवे चौर लामो समयदेखि व्यवस्थित प्रयोगविहीन अवस्थामा रहेकाले आवश्यकताअनुसार डोजर प्रयोग गरी पार्किङका लागि उपयुक्त बनाइने भएको छ । तत्कालका लागि अस्थायीरुपमा सवारी व्यवस्थापन गर्ने र पछि उपमहानगरपालिकाले स्थायी पार्किङस्थलको व्यवस्था गरेपछि दीर्घकालीनरुपमा सोहीअनुसार व्यवस्थापन गर्ने योजना बनाइएको छ । हाल हेटौंडाको मुख्य बजार, बसपार्क, चौकीटोल, टिसीएनरोड, संगमचोकलगायत क्षेत्रमा सुमोका काउन्टर सञ्चालनमा छन् ।

यात्रु चढाउने र ओराल्ने क्रममा सडक किनारमा सवारी रोकिँदा बजारक्षेत्रमा सवारी आवागमन प्रभावित हुने गरेको छ । काउन्टर वरपर सवारी पार्किङ हुँदा सडक साँघुरिनुका साथै पैदलयात्रुलाई ठूलो समस्या हुने गरेको छ । प्रशासनकाअनुसार काउन्टर र सवारीसाधनलाई एकीकृतरुपमा रोपवे चौरमा व्यवस्थापन गर्नसकेमा मुख्य बजारक्षेत्रको सवारी चाप घटाउन सहयोग पुग्नेछ । यात्रुले एउटै स्थानबाट टिकट लिने र त्यहीँबाट सुमो छुट्ने व्यवस्था मिलाउने तयारी गरिएको छ । हेटौंडा उपमहानगरप्रमुख मीनाकुमारी लामाले बजारक्षेत्रको सवारी व्यवस्थापनका लागि रोपवे चौरलाई प्रयोगमा ल्याउने तयारी भइरहेको बताइन् । उनकाअनुसार अहिले विभिन्न स्थानमा छुट्टाछुट्टै रुपमा सञ्चालन भइरहेका सुमो काउन्टरलाई व्यवस्थित गर्दै यात्रु र व्यवसायी दुवैलाई सहज हुने व्यवस्था मिलाउन खोजिएको हो ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले रोपवे चौरमा सवारी व्यवस्थापन गर्ने योजनालाई व्यवसायी र चालकले पनि सहयोग गर्नुपर्ने बताए । तत्कालका लागि चाडपर्वलाई लक्षित गरेर चौर सञ्चालन गरिए पनि यसलाई व्यवस्थित र प्रभावकारी बनाउन सम्बन्धित व्यवसायी, चालक, प्रहरी तथा स्थानीय तह सबैको भूमिका आवश्यक रहेको उनले बताए । उनकाअनुसार सुमो व्यवसायी तथा चालकसँग आवश्यक छलफल गरी पार्किङ र काउन्टर सञ्चालनको व्यवस्थापन मिलाइनेछ ।

पालिका प्रेस
थप जानकारी