असोज ९ देखि ११ गतेसम्म अत्यधिक वर्षा हुन सक्ने पूर्वानुमानपछि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका कर्मचारीलाई उक्त अवधिमा बिदामा नबस्न आग्रह गरेको छ। मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतहरूलाई आफूसँग नियमित सम्पर्कमा रहन पनि भनेको छ।

मन्त्रालयको विपद् व्यवस्थापन तथा सामाजिक समावेशीकरण शाखाले मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त पूर्वानुमानका आधारमा सबै स्थानीय तहलाई पत्राचार गरेको हो। सम्भावित विपद्मा जनशक्ति परिचालन र समन्वय गर्न सकिने गरी तयारी अवस्थामा रहन मन्त्रालयले आग्रह गरेको छ।

पत्रमा स्थानीय विपद् व्यवस्थापन समितिको बैठक बसेर पूर्वतयारी गर्न र त्यसको जानकारी मन्त्रालयमा पठाउन भनिएको छ। जोखिमयुक्त बस्तीका नागरिकलाई आवश्यक परे सुरक्षित स्थानमा सार्ने तथा सामुदायिक भवन र विद्यालयलाई अस्थायी आश्रयस्थलका रूपमा तयार राख्ने व्यवस्था मिलाउन पनि आग्रह गरिएको छ।

सम्भावित जोखिमबारे नागरिकलाई समयमै जानकारी गराउन वडा कार्यालयमार्फत माइकिङ गर्न र स्थानीय एफएम तथा सामाजिक सञ्जालबाट सूचना प्रवाह गर्न मन्त्रालयले भनेको छ।

पालिका प्रेस
थप जानकारी