प्रकृतिमामा पाइने पुष्परस तथा कुट बटुल्न विचरण गर्दै परागसेचनमा समेत सघाउ पु¥याउने मौरीलाई उपयुक्त वातावरण नहुँदा मौरी संकटमा परेका छन् । वायु प्रदूषणले फूलको गन्ध कम गर्ने भएकाले मौरीहरूलाई फूलहरू खोज्न कठिन हुँदा मौरी संकटमा पर्दै गएका हुन । वायु प्रदूषणले मानव स्वास्थ्य, जैविक विविधता र जलवायुमा हानिकारक प्रभाव पार्ने गरेको छ । वायु प्रदूषणले बालीमा प्रभावकारी परागसेचकको काम गर्ने मौरी र अन्य परागकण कीराहरूलाई उनीहरूको मुख्य काम गर्नबाट रोक्दा खाद्य उत्पादन र जैविक विविधतामा समेत समस्या आउने गरेको अध्ययनहरूले देखाएका छन् ।
मौरी पालन वरिपरि वातावरण प्रदूषित गर्ने कलकारखाना, हाइवे, हस्पिटल, डम्पीङ साइड हुन नहुने मौरीपालन विकास कार्यक्रम भण्डारा चितवनका प्रमुख सुजन अंगाईले बताए । वरिपरिको वातावरण प्रदूषित हुँदा मौरीले उत्पादन गर्ने महमा अन्य पदार्थ मिसिदा दूषित हुने गरेको उनको भनाई छ । धुलो, धुवा र प्रदूषणका कारण महको उत्पादन घट्नुका साथै महको गुणस्तरमा पनि ह्रास आउने गरेको उनले जानकारी दिए । सामान्यः मौरी २ देखि ५ किलोमिटरसम्म रस ल्याउन पुग्ने गरे पनि हेटौँडाको हटियामा बस्तीको बिचमा खोलिएको सिमेन्ट उद्योगले धुलो नियन्त्रण पूर्ण रूपमा नगर्दा, जथाभाबी क्रसर सञ्चालन हुँदा र खेतीपातीमा पनि विषादीको प्रयोग भइदिँदा मौरीले उत्पादन गर्ने मह घटने गरेको हो ।
वातावरण विज्ञ प्रा.डा.बलराम कुमार भट्टले धुलो, धुवा र केमिकलजन्य रसायन नियन्त्रण गरेर उद्योग, कलकारखाना सञ्चालन गर्ने वाचासहित उद्योग सञ्चालन भएतापनि मापदण्ड पूरा नगरिदिँदा समस्या भएको बताए । निगरानी गर्नुपर्ने सरकारी निकायले ठिक ढंगले निगरानी नगरिदिँदा सिमेन्ट उद्योग, कलकारखानाबाट निस्केको केमिकलजन्य पदार्थ, जथाभाबी बाटोघाटो निर्माण भइरहँदा त्यसबाट निस्केको धुलो जम्दा किरा, फट्याङ्ग्रा फुलमा परागसेचन गर्न नआउने गरेको उनले बताए । उद्योग, कलकारखाना स्थापना हुँदा वातावरण प्रभाव मूल्याङ्कन भएको हुन्छ, उद्योगी व्यवसायीले अक्षरश पालना गर्ने प्रतिबद्धता जनाएपनि सरकारले सही ढंगले निगरानी नगर्दा त्यसको प्रत्यक्ष असर आम नागरिक र जीवजन्तुले भोग्न बाध्य भएको उनको भनाई छ ।
वनस्पति विभाग काठमाडौँका वरिष्ठ वैज्ञानिक अधिकृत रघुराम पराजुलीले धुलो, धुवाँ र विभिन्न प्रदूषणले बोटबिरुवामा असर पर्दा त्यसको असर मौरीमा पनि पर्ने गरेको बताए । प्रदूषणले पारिस्थितिक प्रणालीमा असर पर्दा परागचेतनगर्ने कार्य पनि प्रभावित हुने गरेको उनको भनाई छ । प्रदूषणले जुन फुलबाट रस लिने हो, त्यहाँ मौरी आकर्षित नहुने अवस्था पनि आउने गरेको जानकारी दिर्दै धुलोका कारण फुलै राम्रोसँग फुल्न नसक्दा वृद्धि विकासमा समेत असर पर्ने उनको बुझाई छ ।
युके सेन्टर फर इकोलोजी एन्ड हाइड्रोलोजी (युकेसिइएच) र बर्मिङघम रिडिङ सरे र दक्षिणी क्विन्सल्याण्ड विश्वविद्यालय सम्मिलित अनुसन्धान टोलीले ओजोनले फूलहरूको गन्धको आकार र सुगन्धमा ठुलो परिवर्तन ल्याउँछ र यसले मौरीहरू घटाएको पत्ता लगाएको छ । यसबाट मौरीहरूको केही मिटरको दूरीबाट गन्ध पत्ता लगाउने क्षमता ९० प्रतिशतसम्म कम भएको उल्लेख छ । सामान्यतया सवारी साधन र औद्योगिक प्रक्रियाहरूबाट नाइट्रोजन अक्साइड उत्सर्जन सूर्यको प्रकाशको उपस्थितिमा वनस्पतिबाट उत्सर्जित वाष्पशील जैविक यौगिकहरूसँग प्रतिक्रिया हुँदा जमिन–स्तरको ओजोन बन्दछ । अनुसन्धानमा सहयोग गर्ने बर्मिङघ्म विश्वविद्यालयका प्राध्यापक क्रिस्चियन प्रफ्राङले भने, “हाम्रो अध्ययनले फूलको गन्धमा जमिन–स्तरको ओजोनमा हुने परिवर्तनले परागकणहरूलाई प्राकृतिक वातावरणमा आफ्नो महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सङ्घर्ष गर्नुपर्ने कुराको ठोस प्रमाण दिन्छ ।”
मौरीको चरन क्षेत्र र तोरी फुलेको समयमा विषादीको प्रयोग गर्दा मौरी र अन्य जीवजन्तुलाई समेत असर परेको कृषि विकास कार्यालय चितवनका कार्यालय प्रमुख झलकनाथ कँडेलले बताए । कृषि प्राविधिकसँग आवश्यक सरसल्लाह र परामर्श बिनै देखासिकी र छिमेकीले विषादी प्रयोग गरेको देखेर बालीमा विषादी प्रयोग गर्दा त्यसको प्रत्यक्ष असर मौरीमा पर्ने गरेको उनको भनाई छ । खेतीपातीमा प्रयोग हुने विषादीका कारण मौरी र अन्य कीरा–फट्याङ्ग्रा परेको असरका विषयमा नेपालमा अध्ययन अनुसन्धान गर्न सरकारले बजेट विनियोजन नगर्दा पनि परेको असरबारे अनुमान मात्रै लगाउन सकिएको उनले स्विकारे ।
मकवानपुरका व्यवसायीक मौरीपालक तथा मौरी संरक्षण अभियन्ता सन्दीप कुमार सापकोटाले मौरीको चरन क्षेत्र घट्दै तथा बिषात्त हुँदै मौरीसहितको परागसेचकको जीवनचक्रमा प्रभाव पारेको बताए । हेटौँडामा सञ्चालित तीन वटा सिमेन्ट उद्योगले धुलोको उचित व्यवस्थापन र नियन्त्रण नगर्दा मौरीको चरन क्षेत्र विस्थापित हुँदै गएको उनको भनाइ छ । घरपालुवा बाहेकको भिर, खागो, कठ्यौरी, पुत्का लगायत मौरी प्रजातिका परागसेचकहरु सिमेन्टको धुलो र वातावरण प्रदूषणका कारण सङ्कटमा पर्दै गएकोमा उनले चिन्ता व्यक्त गरे ।
प्रदेश सभा सदस्य एवम् उद्योग, पर्यटन तथा वातावरण समिति सदस्य भारती पाठकले मौरीको संरक्षण हुनुपर्नेमा जोड दिइन । बागमती प्रदेशमा मौरीको पनि अध्ययन अनुसन्धान आवश्यक रहेको उनले धारणा व्यक्त गरिन । चिउरी, चमेरो र चेपाङ कार्यक्रम सञ्चालन हुँदै आएको मकवानपुरको राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जंगल संरक्षण गर्दै पालिकाले निश्चित ठाउँमा मौरी चरनका लागि अनुदानको व्यवस्था समेत मिलाइएको बताए ।
मौरी प्रवद्र्धन नीति २०७३ मा कृषि–वन खेती, वन वृक्षारोपण, पार्क र राष्ट्रिय प्राकृतिक संरक्षण क्षेत्रहरूमा गरिने वृक्षारोपण कार्यक्रमहरूमा कम्तीमा २५ प्रतिशत मौरी चरन वनस्पति समावेश गर्ने व्यवस्था मिलाइने उल्लेख भए पनि बागमती प्रदेशको वन तथा वातावरण मन्त्रालयले कार्यान्वयनमा ल्याएको छैन । नीतिमा उल्लेख भए पनि मन्त्रालयले कार्यान्वयन र व्यवहारमा ल्याउन नसकेको वन तथा वातावरण मन्त्रालय स्विका गरेको छ ।
प्रदूषण कम गर्ने, हटाउने वा नियन्त्रण गर्ने तथा प्रारम्भिक वातावरणीय परीक्षण वा वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन अनुसार गर्नुपर्ने कामहरू प्रभावकारी रूपले गर्न गराउन मन्त्रालयले लोक सेवा आयोगबाट निर्धारित प्रक्रिया पूरा गरी वातावरण निरीक्षकहरू नियुक्त गर्न वा त्यस्तो निरीक्षकको काम गर्ने गरी कुनै कर्मचारीलाई तोक्न सक्ने व्यवस्था रहेअनुसार १३ जिल्लाका लागि १५ जना वातावरण निरीक्षक तोकिएको छ । वातावरण निरीक्षकले प्रदूषण कम गर्ने, हटाउने वा नियन्त्रण गर्ने कार्य भए नभएको निरीक्षण गर्ने, नियम विपरीत कुनै ठाउँबाट ध्वनि, ताप वा फोहर मैला निष्कासन गरे नगरेको सम्बन्धमा निरीक्षण गर्ने, प्रस्ताव कार्यान्वयन गर्ने स्वीकृति दिँदा तोकिएका सर्तहरू बमोजिम काम भए नभएको जाँचबुझ तथा निरीक्षण गर्ने, वातावरण संरक्षण ऐनको खण्ड (क), (ख) र (ग) बमोजिम निरीक्षण गर्दा देखिएका कुराहरूको प्रतिवेदन तोकिएको अधिकारी समक्ष पेस गर्ने काम गर्नुपर्ने भए पनि प्रभावकारी काम हुन सकेको छैन् ।















































पालिका प्रेस 











प्रतिक्रिया दिनुहोस्