हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ स्थित लामसुरे आधारभूत स्वास्थ्य केन्द्रमा २० जेठबाट गर्भवती महिलालक्षित भिडियो एक्स–रे सेवा सुरु भएको छ । गर्भवती र गर्भमा रहेका शिशुको स्वास्थ्य अवस्थाको जानकारी लिन केन्द्रमा निःशुल्क भिडियो एक्स–रे सेवा प्रदान गर्न सुरु गरिएको वडा अध्यक्ष सुकराम केसीले जानकारी दिए ।
वडा कार्यालयको संयोजन, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राविधिक सहयोग र बर्जर पेन्ट्स प्रालिको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्राप्त मेसिनबाट सेवा प्रारम्भ गरिएको उहाँले बताए । विशेष गरी वडाभित्रका गर्भवती महिलाहरूलाई लक्षित गर्दै रेडियोलोजिस्ट (विशेषज्ञ डाक्टर) सहितको उपस्थितिमा सेवा सुचारु गरिएको वडा कार्यालयले जनाएको छ । सेवा सुचारु भएसँगै स्थानीय गर्भवती महिलाहरूले सामान्य भिडियो एक्स–रे सेवाकै लागि अस्पताल वा निजी क्लिनिक धाउनुपर्ने र चर्को शुल्क तिर्नुपर्ने बाध्यताको अन्त्य भएको उनले बताए ।
गर्भवतीको गर्भमा रहेको शिशुको अवस्था थाहा पाउन र समयमै समस्याको पहिचान गर्ने उद्देश्यले वडाभित्र नै गर्भवतीका लागि निःशुल्क भिडियो एक्स–रे सेवा सञ्चालन गरेको अध्यक्ष केसीले जानकारी दिए ।‘प्रोटेबल भिडियो एक्स–रे मेसिन’को प्रयोग गरी स्वास्थ्यकर्मीले केन्द्रबाट सेवा दिन सुरु गरेको उनले बताए । स्वास्थ्य केन्द्रबाट गर्भवती महिलालक्षित सेवा मात्र नभई वडाभित्रका दीर्घ रोगीहरूका लागि समेत विशेष सेवाको व्यवस्था गरिएको छ । वडा कार्यालयका अनुसार विभिन्न कडा तथा दीर्घ रोगका बिरामीहरूका लागि स्वास्थ्य केन्द्रबाटै नियमित रूपमा निःशुल्क औषधिसमेत वितरण भइरहेको उनले जानकारी दिए ।
उनले आगामी वर्षदेखि भने महिनाको तीन दिन विशेषज्ञ सेवा प्रदान गर्ने योजना रहेको समेत जानकारी दिए । स्वास्थ्य क्षेत्रलाई अझ प्रभावकारी र नागरिकमैत्री बनाउन वडा कार्यालयले थप नयाँ योजना अघि सार्दै आगामी आर्थिक वर्षदेखि महिनाको तीन दिन रेडियोलोजिस्टसहितका विशेषज्ञ डाक्टरहरू उपस्थितिमा विशेष स्वास्थ्य शिविर तथा परामर्श सेवा सञ्चालन गर्ने सोच रहेको अध्यक्ष केसीले जानकारी दिए । वडा अध्यक्ष केसीले वडावासीहरूको स्वास्थ्य अधिकारलाई सुरक्षित गर्दै घरदैलोमै गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउन वडा कार्यालय प्रतिबद्ध रहेको भन्दै सम्पूर्ण वडावासीहरूलाई स्वास्थ्य केन्द्रबाट प्रवाह हुने सेवाहरूको भरपूर लाभ लिन समेत अनुरोध गरेका छन् ।


















































पालिका प्रेस 








प्रतिक्रिया दिनुहोस्