बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले हेटौंडा मुलुकको मध्यभागमा रहेको महत्त्वपूर्ण सहर भएकाले यसको भविष्य उज्व्वल रहेको बताएका छन् । हेटौंडा नगरपालिकाद्वारा आयोजित ‘समृद्ध हेटौंडा बहस’ कार्यक्रमको १८ जेठमा उद्घाटन गर्दै प्रदेश प्रमुख देवकोटाले प्राकृतिक रूपमा मनोरम रहेको हेटौंडालाई सबै मिलेर वातावरणमैत्री र आकर्षक सहर बनाउन आग्रह गरे । समृद्ध हेटौंडा निर्माण गर्न सबै क्षेत्रको सहयोग आवश्यक पर्ने उनको तर्क थियो । उक्त कार्यक्रममा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणी पौडेलले पालिकाहरू नागरिकले देख्ने र भेट्ने सरकार भएकाले पालिकाका जनप्रतिनिधि आग्रह र पूर्वाग्रहमुक्त हुनुपर्ने बताए । मुलुकमा सुशासन कायम गर्न सबैभन्दा पहिला जनप्रतिनिधि नै अनुशासित र मर्यादित हुनुपर्ने कुरामा उनले जोड दिए ।

हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाको सभापतित्वमा संचालित बहस कार्यक्रमको उद्घाटन कार्यक्रममा प्रदेश सभा सदस्य एकालाल श्रेष्ठले आफ्ना विचार व्यक्त गरेका थिए । ‘समृद्ध हेटौंडा बहस’ कार्यक्रमअन्तर्गत पहिलो सत्रमा ‘स्थानीय सरकार ः जनअपेक्षा, सुशासन र आगामी कार्यदिशा’ शीर्षकमा बहस गरिएको थियो । उक्त बहस कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामा र भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले आफ्ना धारणा राखेका थिए । सञ्चारकर्मी राजेन्द्र बानियाँले संचालन गरेको सत्रका सहभागीहरूले हेटौंडा उपमहानगरपालिकालाई समृद्ध बनाउन सकिने विचार व्यक्त गरेका थिए ।’एचयकउभचयगक

यसैगरी हेटौंडाको विकास र अबको प्राथमिकताको विषयमा पूर्वसचिव किशोर थापा, सहरीविज्ञ डा. कीर्तिकुसुम जोशी र हेटौंडा नगर उपप्रमुख राजेश बानियाँले आ–आफ्ना धारणा राखेका थिए । उक्त कार्यक्रममा सहजकर्ताको भूमिका संचारकर्मी सुगरिका केसीले गरेकी थिइन् ।

‘समृद्ध हेटौंडा बहस’ एकदिने कार्यक्रममा ‘स्थानीय सरकार ः जनअपेक्षा, सुशासन र आगामी कार्यदिशा’, ‘सिर्जनशील हेटौंडा ः संघर्ष, उद्यम र उडान’, ‘हेटौंडाको विकास र अबको प्राथमिकता’ एवं ‘सुसंस्कृत, समावेशी र आवासीय सहर’ शीर्षक गरी चारवटा विषयमा बहस गरिएको थियो । उक्त बहस कार्यक्रममा जनप्रतिनिधि, विज्ञ तथा सरोकारवालाको सहभागिता थियो ।

पालिका प्रेस
थप जानकारी