मकवानपुरको कुलेखानीस्थित इन्द्रसरोवर जलाशयमा दुई लाखभन्दा बढी माछाका भुरा छाडिएको छ । मत्स्य विकास केन्द्र, कुलेखानी मकवानपुरले जलाशयमा दुई लाख छ हजार माछाका भुरा छाडेको हो । केन्द्रका प्रमुख एवं मत्स्य विकास अधिकृत भीमदत्त भट्टका अनुसार रहु, नैनी, सिल्भर कार्प, बिगहेड कार्प, ग्रास कार्प र कमन कार्प जातका फ्राइ तथा फिड्डर साइजका भुरा जलाशयमा छाडिएको हो । जलीय जैविकविविधता संरक्षण तथा माछा उत्पादन वृद्धि गर्ने उद्देश्यले माछाको भुरा छाडिएको हो ।
प्राकृतिकरुपमा तापव्रmम अनुकूल नहुँदा जलाशय क्षेत्रमा माछाका भुरा उत्पादन हुन नसक्ने भएकाले प्रत्येक वर्ष जलाशयमा भुरा छाड्ने गरिएको केन्द्रले जनाएको छ । जलाशयमा रहेका माछा वयस्क नहुँदै समातिने प्रवृत्तिका कारण प्राकृतिक रुपमा प्रजनन र उत्पादन प्रक्रिया प्रभावित हुँदै आएको छ । चालु आवमा बागमती प्रदेशअन्तर्गतका प्राकृतिक जलाशयमा चार लाख माछाका भुरा छाड्ने योजना रहेको कार्यालयले जनाएको छ । कुलेखानीमा केजमा पालन गरिएका माछा बिक्री गरेपछि पुनः नयाँ फ्राइ साइजका भुरा हालिने बताइएको छ । इन्द्रसरोवर रिजर्भवायर नेपालकै ठुला मानवनिर्मित जलाशय हो । विद्युत् उत्पादनका लागि कुलेखानी खोलामा बाँध निर्माण गरी बनाइएको यो जलाशयमा पालुङ, चित्लाङ, सेती, चखेल इनलेट, चल्खु, ठाडो र धस्कुखोलाबाट पानी संकलन हुने गर्दछ ।
समुन्द्री सतहबाट करिब एक हजार पाँच सय मिटर उचाइमा रहेको जलाशय पूर्ण भरिँदा २१६ हेक्टर क्षेत्रफलमा फैलिने र हिउँदमा ५५ हेक्टरमा सीमित हुने गरेको छ । विद्युत् उत्पादनसँगै स्थानीयलाई वैकल्पिक रोजगारी उपलब्ध गराउने र प्रोटिनयुक्त खाद्यपदार्थको पहुँच बढाउने उद्देश्यले जलाशयमा माछापालन हुँदै आएको छ । प्राकृतिक आहारा खाएर हुर्कने सिल्भर कार्प र बिगहेड कार्प जातका माछाको केजमा पालन गरिँदै आएको छ ।
वि.सं २०४५ देखि निजीस्तरमा कृषकलाई प्रविधि सिकाएर केजमा माछापालन सुरु गरिएको हो । विसं २०६६ मा ६८५ जना सेयरसदस्यसहित इन्द्रसरोवर मत्स्य व्यवसायी संघ स्थापना गरी केज तथा खुला तालमा माछापालन विस्तार गरिएको हो । हाल इन्द्रसरोवरमा वार्षिक १५० मेट्रिकटनसम्म माछा उत्पादन हुँदै आएको छ । कार्यालय प्रमुख भट्टले पछिल्लो समय जलाशयमा माछाको संख्या घट्दै गएकाले माछामा आश्रित समुदायको जीविकोपार्जनलाई सहयोग पु¥याउन नियमितरुपमा भुरा छाड्ने गरिएको बताए । उनले प्राकृतिक जलाशयमा समयसमयमा माछाका भुरा छाड्दा माछा संरक्षणप्रति स्थानीय स्तरमा चेतना वृद्धिहुने विश्वास व्यक्त गरे ।
पछिल्लो समय इन्द्रसरोवर र थाहाक्षेत्रमा उत्पादन हुने तरकारीमा अत्यधिक विषादि प्रयोग गरिँदा, बर्खामा बगेर आउने पानीसँगै जलाशयमा जम्मा हुने पानी पनि प्रदूषित भइरहेको छ । विषादियुक्त पानीका कारण जलाशयमा आश्रित प्राणीमा नराम्रो असर परेको सरोकारवालाले बताएका छन् ।
















































पालिका प्रेस 













प्रतिक्रिया दिनुहोस्