मकवानपुरको पर्यटकीय नगरी थाहाको टिष्टुङमा होमस्टे सुरु भएको छ । थाहा नगरपालिका वडा नम्बर ११ मा रहेको पहलमान टोल (ठाडे)मा ३० जेठमा एक कार्यक्रमकाबीच होमस्टे सुरु गरिएको हो । तामाङ संस्कृति र प्रकृतिको अनुपम उदाहरणीय क्षेत्र टिष्टुङको पहलमान टोलका ५ घरबाट होमस्टे सुरु गरिएको छ । होमस्टे सञ्चालन सम्बन्धी कार्यविधि बमोजिम न्यूनतम घर संख्याबाट टिष्टुङमा होमस्टे सुरु गरिएको हो ।

ग्रामिण पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सुरु गरिएको होमस्टेको ३० जेठमा थाहा नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष तथा सामाजिक विकास समिति संयोजक दिनशे बलले एक कार्यक्रमकाबीच उद्घाटन गरेका हुन् । टिष्टुङ सामुदायिक होमस्टे सुरु गर्नका लागि Ongd Fnel, LUXUMBOURG को आर्थिक सहयोग, जगृति बाल तथा युवा सरोकार नेपालको पहल र पिस हिमालयको प्राविधिक सहयोगमा सञ्चालित ‘आमा परियोजना’ अन्तर्गत टिष्टुङ साना किसान कृषि सहकारी संस्था लिमिटेडसँगको विशेष सहकार्य रहेकोे छ । अधिकांश तामाङ जनजातीको बसोबास रहेको टिष्टुङमा पर्यटन प्रवद्र्धन र स्थानीयको आयआर्जन वृद्धिका लागि होमस्टे सञ्चालनमा सहयोग गरिएको जगृति बाल तथा युवा सरोकार नेपालका राष्ट्रिय निर्देशक प्रकाश खड्काले बताए । निर्देशक खड्काले प्राकृतिक रुपमा मनोरम र तामाङ संस्कृति रहेको टिष्टुङलाई आयआर्जनसँग जोड्नका लागि होमस्टे प्रभावकारी हुने बताए ।

सो अवसरमा होमस्टे सञ्चालन गर्ने घरका लागि होमस्टे सञ्चालन सम्बन्धी कार्यविधिले तोकेको मापदण्डमा आधारित भएर संस्थाले विभिन्न सामाग्री वितरण गरेको छ । संस्थाले होमस्टे सञ्चालन गर्ने परिवारका लागि आधुनिक सुधारिएको चुल्हो, भान्छामा आवश्यक पर्ने भाडाकुडा, शौचालय सरसफाई सम्बन्धी सामग्री तथा पाहुना कोठाका लागि आवश्यक पर्ने सामग्रीहरु वितरण गरेको छ ।

टिष्टुङ सामुदायिक होमस्टे सञ्चालक समितिका अध्यक्ष किरणमान बलको सभाध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष दिनशे बलले गैर सरकारी संस्थाले गरेको सहयोगलाई महत्व दिदै स्थानीयबासीले आफ्नै कार्यक्रम ठानेर अघि बढ्न अनुरोध गरे । टिष्टुङबासीको आयस्तर बढाउनका लागि होमस्टेले सहयोग पु¥याउने बताउँदे गाउँकै पर्यटकीय ‘प्वाइन्ट’हरु नर्वे ढुङ्डा, खुकुरी पार्क, मुस्कान झरना, मूलाबारीचौरलगायतका स्थानहरुले थप आकर्षण बढाउने बताए । थाहा नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख अनिल लामिछानेले विकास साँझेदारको सहयोगलाई माछा नठानेर बल्छीको रुपमा प्रयोग गरे आर्थिक जीवनस्तर उकासिने बताए । उनले स्रोत र साधनको भरपूर प्रयोग गरी प्राकृतिक रुपले दिएको वातावरण र आफ्नै परम्परागत जातीय संस्कृतिकै कारण पर्यटकहरु टिष्टुङमा आकर्षित हुने बताए । उनले जातीय पहिचानसहितको संस्कृति संरक्षण र प्रवद्र्धनका लागि सहयोग हुने प्रतिवद्धता जनाए ।

कार्यक्रममा थाहा नगरपालिकाका पर्यटन शाखा प्रमुख सुरज कुमार भुजेलले पर्यटकलाई आकर्षण गर्नका लागि आवश्यक आधारभूत कुरा टिष्टुङमा भएको बताउँदै अब होमस्टे संचालकहरुको दृढ इच्छा शक्तिले नै सम्वृद्धी हुने विश्वास गरे । पालिका आफैले गर्नुपर्ने कतिपय काममा विकास साँझेदार संस्थाले देखाएको अग्रसरता स्थानीयका लागि बरदान भएको उल्लेख गर्दै संस्थाप्रति आभार व्यक्त गरे । शाखा प्रमुख भुजेले आर्थिक सम्वृद्धि भएमा बालबालिकाको शिक्षादेखि पारिवारिक मात्र नभई समग्र गाउँकै जीवनशैली परिवर्तन हुने बताए । उनले थाहानगरको सम्वृद्धिका लागि कृषि र पर्यटन नै उपयुक्त आधार भएको सुनाए । टिष्टुङ सामुदायिक होमस्टे सञ्चालक समितिका अध्यक्ष किरणमान बलले होमस्टेलाई सवल र सक्षम बनाउनका लागि संस्था र स्थानीय तहको सहयोग सँगसँगै हुने विश्वास व्यक्त गरे । टिष्टुङलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि तामाङका साँस्कृतिक कुराहरुलाई थप उजागर गर्दै लैजाने अध्यक्ष बलको भनाइ थियो ।

जगृति बाल तथा युवा सरोकार नेपालका समुदाय परिचलन तथा जीविकोपार्जन अधिकृत नारायण अधिकारीबाट सञ्चालन भएको होमस्टे उद्घाटन तथा सामग्री हस्तान्तरण कार्यक्रममा संस्थाका प्राविधिक संयोजक अरविन खड्का, उमेश पोख्रेल, बागेश्वर माविका प्रधानाध्यापक विरमान तामाङ, थाहा नगरपालिकाका सूचना प्रविधि अधिकृत भगिरथ कार्की, एमआएस फिल्ड सहायक अच्युत विडारी तथा स्थानीयहरुको उल्लेख्य उपस्थिती रहेको थियो । कार्यक्रममा उपस्थित अतिथीहरुलाई तामाङ परम्परा अनुसार पवित्र मानिने टटेलाको फुल र दहीको टिका लगाइ स्वागत गरिएको थियो भने ‘बाबरे’ परिकारसहितको स्वाद अतिथिहरुलाई चखाइएको थियो ।

यसैबीच जगृति बाल तथा युवा सरोकार नेपालले टिष्टुङमा कृषक पाठशाला तथा प्रदर्शन तालिम मार्फत कृषकहरूलाई सैद्धान्तिक र व्यावहारिक ज्ञान दिनुका साथै प्रत्येक तालिममा कृषकहरूलाई तालिम सामग्री समेत वितरण गर्दै आइरहेको छ । माटो जाँच, मलखाद व्यवस्थापन, नर्सरी व्यवस्थापन, गँड्यौला मल उत्पादन र प्लास्टिक पोलिहाउसमा गोलभेडा खेती प्रवद्र्धन गर्दै आएको छ । साथै, ग्रीन हाउस निर्माण गरी मौसमी तथा बेमौसमी तरकारी उत्पदन, नर्सरी व्यवस्थापन गर्ने उद्देश्यले माटो रहित नर्सरीबाट स्वस्थ बेर्ना उत्पादन गरी वितरण गर्दै आएको छ ।































































प्रतिक्रिया दिनुहोस्