मकवानपुरको हेटौँडा उपमहानगरपालिका–६ चौघडास्थित रानी सामुदायिक वन उपभोक्ता समूहले दुर्लभ वन्यजन्तु सालक संरक्षण कायृमा अब्बल ठहरिएको पाइएको छ । किसानको साथीका रूपमा चिनिने सालकलाई समूहले आफ्नै सन्तानसरह संरक्षण गर्दै आएको छ । स्थानीय सुरज फुयालले जेठ १० गते राति करिब ८ बजे बाटोमा हिँडिरहेको अवस्थामा करिब तीन किलो तौलको सालक फेला पारी वन हेरालु हरिचन्द्र सापकोटालाई बुझाएका थिए । उक्त सालकलाई समूहद्वारा निर्माण गरिएको सालक केजमा सुरक्षित रूपमा राखिएको छ ।

सालक राख्ने कार्यक्रममा वडा नम्बर–६ का वडा अध्यक्ष विष्णुबहादुर दाहाल, वडा सदस्य विजय पौडेल, समूहकी सचिव अमुना सापकोटा, सदस्य पूर्णभद्र चौलागाईं, लेखा संयोजक राजकुमार फुयाल, उपभोक्ता तथा कर्मचारीको सहभागिता रहेको थियो । अत्यन्त लजालु स्वभावको सालक रातिको समयमा सक्रिय हुने गर्दछ । धमिरा र कमिला खाएर जीवनयापन गर्ने सालकको संरक्षणका लागि समूहले वन क्षेत्रमा रहेका धमिराका देउला संरक्षण गर्दै आएको समूहका अध्यक्ष केशव धितालले जानकारी दिए ।

यसअघि पनि समूहले वैशाख २ गते भेटिएको वयस्क तथा बच्चा सालकको उद्धार गरी सुरक्षित बासस्थानमा छाडेको थियो । समूहका अनुसार रानी सामुदायिक वन क्षेत्रमा हाल करिब पाँच दर्जन सालक रहेको अनुमान गरिएको छ । सालक संरक्षणका लागि समूहले जनचेतनामूलक कार्यक्रम, विद्यालयस्तरीय अभियान, बासस्थान संरक्षण, कानुनी सचेतना, होर्डिङ बोर्ड स्थापना तथा सालकको मूर्ति निर्माणजस्ता गतिविधि सञ्चालन गर्दै आएको छ । जिल्ला भित्र तथा बाहिर फेला परेका सालकसमेत रानी सामुदायिक वनमा ल्याएर संरक्षण गर्ने गरिएको समूहले जनाएको छ ।

समूहले २०६२ सालदेखि सालक संरक्षण अभियान सञ्चालन गर्दै आएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०७३ अनुसार सालक मार्ने, खरिदबिक्री गर्ने वा ओसारपसार गर्ने व्यक्तिलाई पाँच लाखदेखि १० लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षदेखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ ।

पालिका प्रेस
थप जानकारी