‘समृद्ध भविष्यको आधारः जलवायु एवं प्रकृतिमैत्री विकास’ भन्ने नारासहित विश्व वातावरण दिवस–२०८३ को अवसरमा हेटौंडा उपमहानगरपालिकाको सहयोग तथा टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडाद्वारा आयोजित सप्ताहव्यापी कार्यक्रम पुरस्कार वितरण, वातावरण सम्मान तथा समापन समारोहसहित सम्पन्न भएको छ ।

टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्र्रु्रुवप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री तथा हेटौंडा उपमहानगरपालिकाका पूर्व नगरप्रमुख डोरमणी पौडेल, वन तथा वातावरण मन्त्री भरतकुमार केसी, प्रदेशसभा सदस्य एकलाल श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितकुमार घलान, हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँलगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले वातावरण संरक्षणलाई व्यवहारमा उतार्न समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको बताए । जलवायु परिवर्तनका चुनौती सामना गर्न सरकार, स्थानीय तह, समुदाय र नागरिकबीचको सहकार्यलाई थप सुदृढ बनाउनुपर्ने उनको भनाइ थियो। विशेष अतिथि डोरमणी पौडेलले हेटौंडामा टोल विकास संस्थामार्फत समुदायमा आधारित विकास र वातावरण संरक्षण अभियानको सुरुवात गरिएको स्मरण गर्दै वातावरणीय सचेतना र सामाजिक रूपान्तरणमा टोल विकास संस्थाहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे ।

वन तथा वातावरण मन्त्री भरतकुमार केसीले प्राकृतिक स्रोत संरक्षण, प्लास्टिकजन्य प्रदूषण नियन्त्रण तथा हरियाली प्रवद्र्धनमार्फत वातावरणीय सन्तुलन कायम राख्न सबै पक्षको साझा जिम्मेवारी रहेको बताए । उनले वातावरणमैत्री विकासलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको जानकारी दिए । कार्यक्रममा अध्यक्ष अधिकारीले सप्ताहव्यापी कार्यक्रमअन्तर्गत सम्पन्न गतिविधिहरूको समीक्षात्मक प्रतिवेदन प्रस्तुत गर्दै वृक्षारोपण, प्लास्टिक न्यूनीकरण अभियान, फोहोर खोज चुनौती, विद्यालयस्तरीय प्रतियोगिता, वातावरणीय संवाद, सचेतनामूलक र्याली, सरसफाइ अभियान तथा जनचेतनामूलक कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न भएको जानकारी दिए । साथै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण निकाय, संस्था, विद्यालय, सञ्चारकर्मी, स्वयंसेवक तथा सहभागीहरूप्रति आभार व्यक्त गरे ।

यसैबीच समारोहमा वातावरण संरक्षण, सरसफाइ, हरियाली प्रवद्र्धन, जैविक विविधता संरक्षण तथा सामुदायिक विकासमा योगदान पु¥याएका व्यक्ति तथा संस्थाहरूलाई ‘वातावरण सम्मान–२०८३’ प्रदान गरिएको छ । खानेपानी, सरसफाइ तथा स्वच्छताको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएबापत वरिष्ठ पत्रकार तथा हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप विष्ट सम्मानित भए । त्यस्तै हेटौंडा–११ स्थित खाली जग्गामा बुद्ध पार्क निर्माण तथा संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गरेबापत सिद्धिलाल श्रेष्ठलाई सम्मान प्रदान गरिएको छ ।

विद्यालयतर्फ वातावरणीय सरसफाइ तथा हरियाली प्रवद्र्धनमा उत्कृष्ट कार्य गरेबापत भुटनदेवी माध्यमिक विद्यालय सम्मानित भएको छ । मन्दिरतर्फ पशुपति मन्दिर, धार्मिक स्थलतर्फ कुशमान्ड सरोवर त्रिवेणीधाम, स्मारकतर्फ शहीद स्मारक विकास समिति तथा सामुदायिक वनतर्फ रानी सामुदायिक वन सम्मानित भएका छन् । वडा कार्यालयहरूमध्ये वातावरणीय व्यवस्थापन तथा हरियाली प्रवद्र्धनमा उत्कृष्ट कार्य गरेबापत हेटौंडा उपमहानगरपालिका वडा नं. १० सम्मानित भएको छ। उत्कृष्ट टोल विकास संस्था वडा समन्वय समितिका रूपमा हेटौंडा–११ वडा समन्वय समिति सम्मानित भएको छ भने टोल विकास संस्थासँग समन्वय गरी वातावरणीय कार्यक्रम सञ्चालनमा महत्वपूर्ण भूमिका निर्वाह गरेबापत वडा नं. ११ कार्यालयलाई विशेष सम्मान प्रदान गरिएको थियो।

सर्प उद्धार तथा व्यवस्थापनमा योगदान पु¥याएबापत राजेश थापा र विश्वास कोइरालालाई सम्मान गरिएको थियो। त्यसैगरी डिभिजन वन कार्यालय मकवानपुर, सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा–११, ज्ञानदीप टोल विकास संस्था, शान्तिचोक टोल विकास संस्था, सामुदायिक विकास तथा सचेतना नेपाल तथा पशुपति हेल्थ क्लबलगायत विभिन्न संघ–संस्थालाई वातावरण संरक्षण, जनचेतना अभिवृद्धि तथा सामुदायिक विकासमा पु¥याएको योगदानको कदरस्वरूप सम्मान गरिएको थियो।

हेटौंडा–११ का पूर्व वडा अध्यक्ष गोकर्ण पराजुलीलाई आफ्नो कार्यकालमा वातावरण संरक्षण, सरसफाइ प्रवद्र्धन तथा टोल विकास संस्थाको प्रभावकारी परिचालनमा महत्वपूर्ण भूमिका निर्वाह गरेबापत सम्मान गरिएको थियो। यस अवसरमा वातावरण संरक्षण, हरियाली प्रवद्र्धन, सामाजिक जागरण तथा सामुदायिक विकासमा योगदान पु¥याउने अन्य व्यक्तित्वहरूलाई पनि सम्मान प्रदान गरिएको थियो।

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, वडा अध्यक्षहरू, सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि, हेटौंडा उपमहानगरपालिकाका महाशाखा तथा शाखा प्रमुखहरू, टोल विकास संस्था नगर समन्वय समितिका सल्लाहकारहरू, शिक्षक–शिक्षिका, विद्यार्थी, महिला स्वास्थ्य स्वयंसेविका, सञ्चारकर्मी तथा धार्मिक, जातीय र सांस्कृतिक संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

वक्ताहरूले वातावरण संरक्षण, जलवायु परिवर्तन न्यूनीकरण, सरसफाइ प्रवद्र्धन, हरियाली विस्तार तथा समुदायको सक्रिय सहभागितामार्फत दिगो विकासका लक्ष्य हासिल गर्न सबै पक्षको साझा प्रतिबद्धता आवश्यक रहेकोमा जोड दिएका थिए। आयोजकका अनुसार सप्ताहव्यापी कार्यक्रमले हेटौंडामा वातावरण संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै समुदायस्तरमा वातावरणमैत्री अभ्यासलाई थप प्रोत्साहन गरेको छ।

समारोहले वातावरण संरक्षण, सरसफाइ, हरियाली प्रवद्र्धन तथा जलवायुमैत्री विकासका लागि समुदायको सहभागिता अझ सुदृढ बनाउने प्रतिबद्धतासहित विश्व वातावरण दिवस–२०८३ सप्ताहव्यापी कार्यक्रमको सफल समापन गरेको आयोजकले जनाएको छ।

पालिका प्रेस
थप जानकारी