बागमती प्रदेशका मकवानपुर जिल्लाअन्तर्गत भीमफेदी गाउँपालिका र इन्द्रसरोवर गाउँपालिकामा गरिएको संयुक्त अनुगमनका क्रममा अधिकांश होटल तथा केही किराना पसलहरूमा खाद्य स्वच्छता र सरसफाइको अवस्था अत्यन्त कमजोर पाइएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसहित पाँचवटा कार्यालयको संयुक्त टोलीले (शुक्रबार)आज गरेको अनुगमनमा एक्सपायरी भएका खाद्य सामग्री, अखाद्य तेलको प्रयोग, लेबलविहीन वस्तु बिना दर्ताका पसल तथा सरसफाइमा गम्भीर लापरबाही भेटिएको हो।

लामो दूरीको यात्रा गर्ने यात्रुहरूले बाटोमा रहेका होटल तथा रेष्टुरेन्टहरूमा खाजा तथा खाना खाने गरे पनि त्यहाँ प्रयोग हुने खाद्य सामग्रीको गुणस्तर र भान्साको सरसफाइबारे धेरैले चासो नदिने गरेका छन्। यस्तै अवस्थालाई मध्यनजर गर्दै गरिएको अनुगमनले यात्रु तथा उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने खालका कमजोरीहरू देखिएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका कृषि विकास महाशाखा प्रमुख झरना पन्थीका अनुसार मन्त्रालयले वार्षिक कार्यक्रमअन्तर्गत अनुगमनअघि खाद्य स्वच्छता तथा खाद्य सुरक्षासम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको थियो। “सचेतना कार्यक्रमपछि केही व्यवसायीले सुधार गरेका छन्, तर अधिकांश स्थानमा अझै पनि व्यवस्थापन र सरसफाइको अवस्था सन्तोषजनक छैन,” उहाँले बताउनुभयो।

उपभोक्ता हित संरक्षण मञ्चका वासु खतिवडाका अनुसार अनुगमनका क्रममा होटलहरूमा म्याद नाघेका खाद्य सामग्री, सरसफाइको कमी, स्वास्थ्यका लागि हानिकारक अखाद्य तेलको प्रयोग तथा लेबल नभएका वस्तुहरू फेला परेका छन्। यस्ता सामग्रीहरू संयुक्त टोलीको रोहबरमा नष्ट गरिएको छ ।

त्यस्तै, जिल्ला प्रशासन कार्यालय मकवानपुरका सन्तोष सुवेदीले पहिलो चरणको अनुगमन भएकाले अधिकांश व्यवसायीलाई चेतावनी दिइएको बताए। “यसपटक सचेत गराइएको छ, तर आगामी दिनमा पनि सुधार नभए कानुनी कारबाहीसहित कडा कदम चालिनेछ,” बताउनुभएको छ ।

अनुगमनका क्रममा १२ वटा पसल तथा होटलको निरीक्षण गरिएको थियो। त्यसमध्ये इन्द्रसरोवर गाउँपालिका–२ स्थित कुलेखानी भिलेज भान्सालाई खाद्य स्वच्छता मापदण्ड उल्लङ्घन गरेको भन्दै २५ हजार रुपैयाँ जरिवाना उद्योग वाणिज्य कार्यालय अन्तर्गत बुझाउन चिठी काटिएको छ भने अन्य केही व्यवसायलाई पनि सुधारका र दर्ता नभएका व्यवसायीहरूले एक हप्ताभित्र कार्यालयमा कागजात पेश गर्न निर्देशन दिइएको छ।

रुचि तथा पशुपंक्षी विकास मन्त्रालयका खाद्य निरीक्षक एवं कार्यक्रम संयोजक विजय महतका अनुसार स्थानीय तहमा व्यवसाय दर्ता, नवीकरण तथा मूल्यसूची व्यवस्थापनको अवस्था समेत कमजोर पाइएको छ। “कतिपय व्यवसाय दर्ता भएका छन् तर नवीकरण गरिएको छैन। धेरै व्यवसाय भने कुनै पनि निकायमा दर्ता नगरी सञ्चालन भइरहेको अवस्था भेटिएको छ,” बताउनुभयो। स्थानीय तहले नियमित अनुगमन तथा नियमनको जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न नसकेको उनको भनाइ छ।

यता व्यवसायीहरूले भने स्थानीय तहबाट खाद्य स्वच्छता तथा व्यवसाय सञ्चालनसम्बन्धी पर्याप्त सचेतना र अनुगमन नभएको गुनासो गरेका छन्। फोहोर व्यवस्थापनको प्रभावकारी व्यवस्था नहुँदा केही व्यवसायी तथा स्थानीयले फोहोर खोलामा बगाउने तथा प्लास्टिकजन्य सामग्री खुला रूपमा जलाउने गरेको पाइएको छ। यसले वातावरणीय प्रदूषणसँगै मानव स्वास्थ्यमा समेत गम्भीर असर पु¥याउने सरोकारवालाहरूको भनाइ छ।

स्थानीयवासीका अनुसार गाउँपालिकाबाट नियमित रूपमा फोहोर सङ्कलन नहुने भएकाले बाध्य भएर यस्ता अभ्यास अपनाउनुपरेको हो। सरोकारवाला निकायहरूले भने फोहोर व्यवस्थापन, खाद्य स्वच्छता र व्यवसाय दर्ता प्रक्रियालाई प्रभावकारी बनाउन स्थानीय तह, व्यवसायी र उपभोक्ता सबैको साझा जिम्मेवारी आवश्यक रहेको बताएका छन्। अनुगमन टोलीले आगामी दिनमा यस्ता गतिविधिलाई निरन्तरता दिँदै खाद्य सुरक्षाको मापदण्ड पालना गराउन थप कडाइ गर्ने जनाएको छ। उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय भएकाले होटल, रेष्टुरेन्ट तथा किराना व्यवसायीहरूलाई कानुनअनुसार सञ्चालन गर्न र खाद्य स्वच्छतामा विशेष ध्यान दिन आग्रह गरिएको छ।

पालिका प्रेस
थप जानकारी